देशभित्रै पेट्रोलियम पदार्थ उत्खननको प्रक्रिया शुरु हुन्छ : मन्त्री यादव

matrika yadav
लाेकपाटी न्यूज

काठमाडौं, ८ असार । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ।
ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चीनियाँ प्राविधिकसमेत आइसकेका छन्।

पहिलो चरणमा चीनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिए। नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चीनियाँ प्राविधिक यहाँ आएका छन्।

विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु हुन लागेको जानकारी दिए। यस्तै सरकारले नवलपरासीको धौवादीमा रहेको फलामखानीको उत्खननको प्रक्रियासमेत अगाडि बढाएको उहाँले जानकारी दिए।

उनले उपलब्ध साधनस्रोतको उपयोग गरी बजार अनुगमन गरिएको, गुणस्तरीय वस्तु उपभोक्तालाई उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहेको बताए।गत जेठ मसान्तसम्म एक हजार ५४५ वटा फर्मको अनुगमन गरिएको उल्लेख गर्दै मन्त्री यादवले १४५ फर्मलाई जरिवाना गरिएको जानकारी दिए।

उनले एक फर्मको अनुमतिपत्र खारेज गरिएको र छ वटा फर्मलाई कारवाहीका लागि सम्बन्धीत निकायलाई पठाइएको र तीन वटालाई मुद्दा चलाइएको उल्लेख गरे। यस्तै गुणस्तर तथा नापतौल विभागबाट १४५ वटा गुणस्तर चिह्न प्राप्त गरेका फर्म र अन्य १६९ फर्मको अनुमगन गरिएको छ।

अनुगमनका क्रममा कूल ११ प्रकारका सामग्रीको बिक्री रोक्का गरिएको र १३ वटाको गुणस्तर चिह्न स्थगन गरिएको मन्त्री यादवले बताए। यस्तै उपभोक्ता ठगी गर्ने २१ वटा पेट्रोलपम्पलाई कारवाही गरिएको मन्त्री यादवको भनाइ छ।
निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयात र बिक्रीका लागि सरकारले सहजीकरण गर्न लागेको र अध्ययन समिति गठन गरिएको जानकारी दिँदै मन्त्री यादवले थप पेट्रोलपम्प खोल्नका लागि सूचना आह्वान गरिएको र यही असार १३ गतेसम्म आवेदनको समयावधि रहेको बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तो भयो भन्ने सन्दर्भमा मन्त्री यादवले व्यवहारतः त्यस्तो नभएको प्रष्टीकरण दिए। उनले भने, “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा हुनै सक्दैन। विगतमा भोगेका साथीहरुलाई त्यस्तो लागेको होला। तर, अहिले एकअर्को मन्त्रालयसँग तालमेल गरेर एकताबद्ध भई काम गरिरहेका छौँ।”

मन्त्री यादवले नेपालमा लगानीको वातावरण बनेको स्पष्ट पारे। वैदेशिक तथा आन्तरिक लगानीको प्रवद्र्धनका लागि सरकारले आवश्यक ऐन, नियम तथा कानूनको प्रबन्ध गरेको र सोहीअनुसारको वातावरण बनाएको बताए।वर्तमान सरकारले लगानी विस्तारका लागि हदैसम्मको प्रयास गरेको र त्यसको प्रतिफल केही समयपछि स्पष्टरूपमा देखिने उनको भनाई थियो।

निर्यातमूलक उद्योगको प्रवद्र्धन गर्न सरकार लागिपरेको जानकारी दिँदै उनले औद्योगिक क्रान्तिका लागि सबैको साथ र सहयोगसमेत जरुरी रहेको बताए। “आर्थिक समृद्धि सरकारका लागि मात्रै हुँदैन, सबै नेपालीका लागि हुन्छ, सबै राजनीतिक दलका लागि हुन्छ”, मन्त्री यादवले भने। राष्ट्रिय पूँजी प्रवद्र्धन गरी साना तथा घरेलु उद्योगलाई समेत थप प्रवद्र्धन गर्न सरकारले योजनाबद्ध प्रयास थालेको उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्