भारतीय सडकका कारण नेपालीका सयौँ घर डुबानमा

pic
लाेकपाटी न्यूज
0 Shares

बाँके, ९ असार । बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन्।

दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन्।
सय भन्दा बढी घर डुबेको र झण्डै एक दर्जन घर भत्किएको अध्यक्ष शाहले जानकारी दिए।

वर्षातले निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्‍याएको छ। पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको छ। गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमूख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए।

घरहरुमा पानी पसेपछि गाउँपालिका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ।अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमूख प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्