पोखरा महानगरद्वारा ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

Pokhara-Metropolitan-City pic
लाेकपाटी न्यूज

पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक स्रोत र प्रदेश सरकारबाट प्राप्त अनुदान रकम सहित उक्त बजेट प्रस्तुत गरेको हो।

पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले चालुतर्फ २ अर्ब १५ करोड ५४ लाख ४० हजार, पुँजीगततर्फ ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजन गरिएको जानकारी दिइन्। पुँजीगततर्फ संसद विकासका कोष कार्यक्रम बापतको १४ करोड महानगरले परिचालन गर्ने छ।

उपमेयर गुरुङले महानगरको पाँचौ नगरसभामा प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख ८० हजार, गण्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख ८३ हजार र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख १८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

विनियोजित बजेटमा अपुग हुने ६८ करोड ५० लाख रुपैयाँ मध्ये वैदेशिक ऋण तथा अनुदानबाट १० करोड, जनसहभागिताबाट ३६ करोड ५० लाख र चालु आर्थिक वर्षमा रहने २२ करोड नगद मौज्दातबाट वहन हुने प्रक्षेपण गरिएको छ।

संघीय सरकारबाट महानगरले पाउने वित्तीय समानीकरण अनुदान ६० करोड २ लाख, सशर्त अनुदान १ अर्ब १७ करोड २७ लाख, विशेष अनुदान १५ करोड र समपुरक अनुदानतर्फ १७ करोड ५० लाख, राजस्व बाँडफाँड बापत ४१ करोड ९९ लाख, सामाजिक सुरक्षामा ६० करोड, सडक बोर्डबाट ३ करोड, सहरी स्वास्थ्य पूर्वाधारमा ५ करोड, सांसद विकास कोषबाट १२ करोड र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत २ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा छ।

प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २ करोड १४ लाख ४४ हजार, सर्शत अनुदान २ करोड, विशेष अनुदान १२ करोड, समपुरक अनुदान २० करोड र राजस्व बाँडफाँडतर्फ ३ करोड ८२ लाख ३९ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन्। आगामी वर्षका लागि महानगरले आन्तरिक राजस्व स्रोत तर्फ आम्दानी गर्ने कर सम्बन्धी दररेटलाई यथावत राखेको छ। तर, दायरा भने बढाउने नीति लिइएको उपमेयर गुरुङले सुनाइन्।

‘करदातालाई प्रोत्साहन गरी कर तिर्ने बनाउन विविधि कार्यक्रम सहित प्रत्येक वर्ष कर सप्ताह एवं कर जागरण कार्यक्रम सञ्चालन गरिने व्यवस्था मिलाइनेछ,’ उपमेयर गुरुङले भनिन्। महानगरले आगामि वर्षलाई ‘महानगर कर अभियान वर्ष’का रुपमा मनाउने नीति अवलम्बन गर्ने भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्