विश्वमै सबैभन्दा प्रख्यात नेपालका अठार पर्यटकीय गन्तव्य

pokhara paraglaiding
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालीहरूमा बढ्दै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नयाँ वर्षमा घुमफिरडटकमको दृष्टिमा नेपालकै उतकृष्ट गन्तब्यहरु पोखरा, सौराहा, रारा, जोमसोम, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, भेडेटार, लुम्बिनी, घोडाघोडी ताल, शुक्लाफाँटा, खप्तड आदि प्रमुख गन्तब्यहरु पर्न सफल भएका छन्। तपाई नयाँवर्षमा कहाँ जान रुचाउनु हुन्छ ? नेपालको सबैभन्दा ठूलो ताल, वरपर जंगल तथा चरा–चुरुङ्गीको चिरबिरले जो–कसैलाई स्वर्गको आभास दिलाउँछ।

१. रारा ताल

यो स्वर्गीय टुक्रामा बसेर नयाँ सोचसँगै नयाँ योजना बनाउने मन कसलाई हुदैन र रु यदि तपाईंसँग पनि त्यस्तो कल्पना छ भने रारा घुम्न सक्नुहुन्छ। पाँच वर्षअघिसम्म रारालाई कठिन गन्तव्य मानिन्थ्यो। तर, अहिले यातायातको सुविधाले काठमाडौंबाट दुई दिनको यात्रापछि रारा सजिलै पुग्न सकिन्छ। मुगुमा पर्ने यो तालको सेरोफेरोमा अरू धेरै गन्तव्य पनि छन्। यो क्षेत्रमा चंखेली हिमाल, दुधे दहसहित साना–ठूला गरी १ सयभन्दा बढी ताल, कुण्ड आदि छन्।

रारा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने उक्त क्षेत्रमा रेडपान्डा, दुर्लभ सेतो कस्तूरी, नाउर, घोरल, गिद्ध, बाज, चीलजस्ता पशुपन्छी अवलोकन गर्न सकिन्छ। यो क्षेत्र यार्सागुम्बा, पाचँऔले, उत्तिस, कटुस, भोल्तेजस्ता जडीबुटीको भण्डार पनि हो। अहिले नयाँ वर्षका लागि आर्ट समिट एन्ड टुर्सले रारा यात्राको एकहप्ते प्याकेज समेत सार्वजनिक गरेको छ। यो प्याकेजअन्तर्गत रारा पुगेर काठमाडौं फर्कंदासम्म प्रतिव्यक्ति १६ हजार ५ सय रुपैयाँ खर्च हुने बताइएको छ। ६ रात ७ दिनको यो प्याकेजमा यातायात, खानपान तथा बास खर्च समावेश छ।

२. जोमसोम–मुक्तिनाथ

प्रकृतिप्रेमीहरूका लागि जोमसोम र त्यसवरिपरिको क्षेत्र विश्वमा नै निकै प्रसिद्ध छ, भने धार्मिक पर्यटकका लागि मुक्तिनाथ चर्चित छ। पाँच–छ वर्ष पहिलेसम्म विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने जोमसोम–मुक्तिनाथ अहिले नेपालीहरूको रोजाइमा पनि पर्न थालेको छ। यसको प्रमुख कारण पोखराबाट जोमसोम–मुक्तिनाथका लागि सहज सडक यातायात उपलब्ध हुनु र सञ्चार क्षेत्रमा भएको विकासलाई लिन सकिन्छ हो। एकल यात्राका लागि जोमसोम–मुक्तिनाथ केही महँगो भए पनि विभिन्न ट्राभल कम्पनीहरूले जारी गरेको प्याकेजलाई निकै सस्तो मानिएको छ। उक्त प्याकेजअन्तर्गत ४ रात र ५ दिनको भ्रमणका लागि १४ हजार ५ सय रुपैयाँजति खर्च गर्नुपर्छ।

३. चित्लाङ

नयाँ गन्तव्य रोज्नेहरूका लागि मकवानपुरको चित्लाङ पनि उपयुक्त हुन सक्छ । उपत्यकाको धूवाँधूलो र कोलाहललाई पन्छाउँदै थानकोटबाट मात्र १४ किलोमिटरको बस यात्रापछि चित्लाङ पुग्न सकिन्छ। ऐतिहासिक स्थल, ग्रामीण वातावरण, वनजंगलको मनमोहक दृश्यका साथ यहाँ रहेका साना–ठूला होटलहरूले पाहुनाको भव्य स्वागत गर्छन्। चित्लाङमा टिम बनाएर पनि जान सकिन्छ भने विभिन्न ट्राभल कम्पनीले तयार गरेका प्याकेजमार्फत पनि पुग्न सकिन्छ। विभिन्न ट्राभल कम्पनीहरूले नयाँ वर्षलाई लक्षित गरी १ रात र २ दिनका लागि ३ हजार ५ सय रुपैयाँको प्याकेज तयार गरेका छन्, जसमा काठमाडौंबाट चित्लाङसम्मको यातायात, एक रातको बास तथा खानापिन समावेश छ। यो प्याकेजअन्तर्गत प्रत्येक दिन थानकोटबाट २ बजेपछि बस छुट्छ।

४. त्रिशूली, भोटेकोशी र्‍याफ्टिङ

र्‍याफ्टिङमा रमाउनेहरूका लागि भोटेकोशी र त्रिशूली नदीमा र्‍याफ्टिङसहितको प्याकेज सार्वजनिक भएको छ, जसअन्तर्गत त्रिशूलीसम्म पुगेर र्‍याफ्टिङ गरी काठमाडौं फर्कन एक जनाले १ हजार ८ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। यो प्याकेजअन्तर्गत भोटेकोशीमा र्‍याफ्टिङ गर्ने हो भने २ हजार २ सय रुपैयाँ खर्च हुन्छ। पहिलो प्याकेजमा काठमाडौंदेखि त्रिशूलीसम्मको यातायात तथा दोस्रो प्याकेजमा भोटेकोसीसम्मको यातायात एवं एक दिनको खानाको व्यवस्था छ।

५. इलाम

इलाम एउटा प्रमुख गन्तव्य हो। नागबेली डाँडामा चियाका बोटसँग लुकामारी खेल्दै यहाँको सौन्दर्यको मज्जा लुट्नुको आनन्द नै बेग्लै हुन्छ। सार्वजनिक यातायातमार्फत सजिलैसँग इलाम पुग्न सकिन्छ। इलामका सबै साना–ठूला पर्यटकीय गन्तव्यमा स्तरीय होटलहरूको व्यवस्था छ। दिनभर घुमेर अर्को दिन मात्र फर्कन चाहनेहरूले यहाँ प्रतिव्यक्ति ४ हजार रुपैयाँ खर्च गरे पुग्छ।

६. भेडेटार

तराईको गर्मी छल्दै नयाँ वर्ष मनाउने उपयुक्त डेस्टिनेशन हो— भेडेटार। छिनमै बादल र छिनमै घाम लाग्नु यहाँको विशेषता हो। भेडेटारको भ्यू–टावरबाट हिमश्रृङ्खला, उच्च पहाडी श्रृङ्खला एवं तराईका समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ। भेडेटारनजिकैको नमस्ते झरना, तमोर नदी तथा मगर समुदायको हुर्रा नाचले नयाँ वर्षलाई थप विशेष बनाउन सक्छ। धार्मिक पर्यटनमा रुचि भएकाहरूले भेडेटारसँगै धरानका बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर, बराहक्षेत्र आदि धार्मिक स्थलको भ्रमण गर्न सक्छन्। एकदिन भेडेटारमै बिताउने हो भने एकदिन एक रातका लागि प्रतिव्यक्ति ३ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्म खर्च हुनसक्छ।

७. लुम्बिनी

गौतम बुद्धको जन्मभूमि लुम्बिनी आन्तरिक पर्यटकका लागि रोजाइको गन्तव्य हो। बुटवल–भैरहवा हुँदै लुम्बिनी पुग्न दुई घण्टा लाग्छ। गौतम बुद्धको जन्मस्थलका साथै विभिन्न शैलीमा निर्माण भएका चैत्य तथा गुम्बाहरू यहाँका विशेषता हुन्। लुम्बिनी नेपालको छुटाउनै नहुने पर्यटकीय गन्तव्य हो। लुम्बिनीमा एक दिनको बसाइ र खानपानका लागि प्रतिव्यक्ति २ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च हुनसक्छ।

७. घोडाघोडी ताल

सुदूरपश्चिमको कैलालीस्थित यो ताल विशेष गरी यस क्षेत्रका थारु समुदायसँग जोडिएको छ। यो ताल हेर्न वर्षेनि हजाराैं आन्तरिक तथा बाह्य पर्यटक पुग्छन्। पूर्व–पश्चिम राजमार्ग नजिकैको यो ताल क्षेत्र चराचुरुङ्गीका लागि पनि प्रसिद्ध छ। यो ताल विशेष गरी सुदूरपश्चिम क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ वर्ष मनाउने विशेष गन्तव्य हो।

८. खप्तड

खप्तड राष्ट्रिय निकुञ्ज बझाङ्ग, बाजुरा, डोटी तथा अछाम जिल्लाको केन्द्र हो। नयाँ वर्षका अवसरमा पदयात्रा गर्न चाहनेहरूका लागि खप्तड उपयुक्त गन्तव्य हुनसक्छ। खप्तड बाबाको कुटी, त्रिवेणी नदी, शिव दह, केदारढुङ्गा जस्ता धार्मिक स्थलका साथै २२ वटा हिमाली फाँट पाटन यहाँका प्रमुख आकर्षण हुन्। त्यसका साथै यो क्षेत्रमा नाचिने हुड्के नाचले पनि जो कसैलाई आकर्षित गर्छ। खप्तडनजिकको प्रमुख बस्ती डोटीको शिलगढी हो। शिलगढीबाट अघि बढेपछि बास उपलब्ध गराउने स्तरीय होटलको व्यवस्था नभएको हुँदा आफैंले पाल, स्लिपिङ्गब्याग, खाना तथा पकाउने सामग्री बोकेर जानुपर्छ।

९. पोखरा

फुर्सदमा घुम्न निस्कनेहरुको सुचीमा पोखरा अग्रपंक्तिमा आउँछ। झनै चाडबाडको फुर्सदमा परिवार तथा साथीहरुसँग घुम्नका लागि धेरैको रोजाइ पोखरा नै हुन्छ। हुन पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा पुगेपछि दिनहरु बितेको पत्तै पाउन सकिदैन। एकपछि अर्को आकर्षक स्थलहरु घुम्दा घुम्दै दिन बित्छ। प्राकृतिक तथा सांस्कृतिक सम्पदा, मौसमको अनुकूलता, अतिथि सत्कार यहाँको पहिचान हो।

पोखराको नाइट लाइफ उस्तै आकर्षक हुन्छ। लाइभ म्युजिक, डिस्को डान्स, गजल– दोहोरीले पनि पर्यटकलाई भुलाउने गर्छ। तालहरुमा रमाउन मात्र नभई साहसिक खेलकुद प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइटले बसाइ लम्ब्याउन सकिन्छ। काठमाडौंबाट करिब चारदेखि पाँचहजार जहाज भाडा तिरेर नत्र माइक्रो वा टुरिष्ट बसमा पाँचसय रुपैंयाँ तिरेर पोखरा उत्रिन सकिन्छ। बासका लागि लेकसाइट, बसपार्क आसपास सस्तो सुविधासम्पन्न होटलहरु छन्। थकाली खाना यहाँको आकर्षण हो भने बिहानीको समयमा विन्ध्यबासिनी, तालबाराहीको दर्शन उपयुक्त हुन्छ।

१०. सौराहा

नेपालमा घुमफिरका लागि धेरै रमणिय स्थानहरुमध्ये सौराहाको नाम अग्रंपक्तिमै जोडिएर आउँछ। चितवनका अन्य पर्यटकीय स्थलहरुमध्ये सबै झुम्मिने भनेको सौराहामा नै हो। फुर्सदको समय र उपयुक्त मौसम मिलाएर पारिवारिक वा हनिमुन ट्रिपका लागि धेरैको रोजाइ सौराहा नै हुने गर्छ। सौराहा ‘वाइल्डलाइफ टुरिजम’का लागि प्रशिद्ध छ। हुन पनि सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ। हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु कल्चरको अवलोकन गर्नु सौराहाका आकर्षणहरु हुन्।

यहाँ हात्ती सफारी सबैभन्दा धेरैको रोजाइमा पर्ने गर्छ। सफारी गर्न आठ सयदेखि १५ सय रुपैयाँ तिर्नुपर्छ। सौराहामा डुङ्गा सफारी अर्को आकर्षक पक्ष हो। राप्ती नदिमा डुङ्गा सयर गर्दा गोही, गैंडा, चराचुरुङ्गी हेर्न तथा अवलोकन गर्न पाइन्छ। साथै, सूर्यास्त पनि सौराहाबाट देख्न सकिन्छ। थारु संस्कृति, परम्परा, रहनसहन बारेमा पनि सौराहा पुगेपछि जान्न बुझ्न पाइन्छ। काठमाडौंबाट हवाइ वा बसको यात्रा गरेर सौराहा पुग्न सकिन्छ। दुई रातका लागि प्रतिव्यक्ति १२ हजार रुपैंया बोकेमा सौराहा मजाले घुम्न सकिन्छ।

११. लोमान्थाङ

मुस्ताङको लोमान्थाङमा विशेष गरी विदेशीहरु घुम्न पुग्ने गर्छन्। तर, नेपालीहरु पनि मुक्तिनाथको दर्शन पनि गर्न पाइने र साहसिक पदयात्रा पनि हुने भएकाले यो क्षेत्र रोजाइमा पर्छ। मुस्ताड तल्लो र माथिल्लो मुस्ताङ गरी दुई तहमा विभाजित छ। माथिल्लो मुस्ताङमा सडकको पहुँच पुगेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि भएको छ।

यहाँ जानलाई पोखरादेखि जोमसोमसम्म हवाइजहाजमार्फत यात्रा गर्न सकिन्छ। त्यसपछि पैदल यात्रा गरेर तीन दिनमा लोमाङथाङ पुग्न सकिन्छ। जोमसोमदेखि जिपमा जाने हो भने एकै दिनमा पुग्न सकिन्छ। खान र बासका लागि केही मंहगो भए पनि सुविधासम्पन्न होटलहरु भेट्न सकिन्छ।

१२. जामुनखाडी

झापाको जामुनखाडी सीमसार क्षेत्र पर्यटकीय नमुनाका रूपमा चर्चित छ। सुरुङ्गामा पर्ने यो स्थान सबैको रोजाइमा पर्न थालेको छ। जामुनखाडी सीमसार क्षेत्र पूर्व–पश्चिम राजमार्गको सुरुङ्गाबाट करिब एक किलोमिटर उत्तर हिँडेर वा गाडीमार्फत पुग्न सकिन्छ। चुरे क्षेत्रको घना जंगलका रूपमा रहेको यो भूभाग उत्कृष्ट गन्तव्य हो। यहाँ विश्वबाट लोप हुँदै गएको अजिङ्गर पनि संरक्षित गरिएको छ। त्यहाँको सानो चिडियाखानामा अन्य वन्यजस्तुहरू पनि संरक्षित छन्।

जामुनखाडीको पोखरीमा नौका बिहार गरेर रमाउन सकिन्छ। त्यहाँ मृगस्थली, बालउद्यान, रंगीन माछाको पोखरी, झोलुङ्गे पुल आदिमा रमाउन सकिन्छ। यहाँ प्रवेश गर्न २० रुपैयाँ शुल्क तिर्नुपर्छ। नजिकैको बिर्तामोड तथा दमकमा सुविधासम्पन्न होटल तथा लज उपलब्ध छन्। काठमाडौंबाट ५ सय ५० किलोमिटरको बस यात्राबाट जामुनखाडी पुग्न सकिन्छ। हवाइजहाजबाट आउनेहरू विराटनगर वा भद्रपुर विमानस्थलमा उत्रिएर ट्याक्सी वा स्थानीय यातायातमार्फत् जामुनखाडी पुग्न सकिन्छ।

१२. जिरी

दोलखा जिल्लाको प्रमुख र आकर्षक गन्तव्य हो जिरी। जिरीलाई स्वीटजरल्याण्डको ज्युरिच सहरसँग तुलना गर्ने गरिन्छ। तामाकोशी नदी, मनमोहक हरियाली र झरना तथा परम्परागत बस्तीले जिरीलाई रमणीय बनाएका छन्। जिरी सगरमाथा प्रवेशद्वारका रुपमा पनि परिचित छ। यहाँबाट सगरमाथाका लागि पदयात्रा सुरु हुन्छ। काठमाडौंबाट करिब आठ घण्टाको बस यात्रापछि जिरी पुग्न सकिन्छ। स्वीटजरल्याण्ड सरकारको सहयोगमा विकास भएको जिरी निकै आकर्षक शहर हो। जिरीमा बस्नका लागि सुविधासम्पन्न होटलहरु छन्। सामान्यतया तीन दिनको अवधि जिरी घुम्नका लागि पर्याप्त हुन्छ। काठमाडौंको पुरानो बसपार्कबाट जिरीको बस चढेर पुग्न सकिन्छ।

१३. नगरकोट

काठमाडौंको व्यस्त दैनिकीलाई बिश्राम लिनलाई नगरकोट पुग्दा हुन्छ। सेताम्मे हिमाल हेर्न तथा एक रात बसोबास गर्नका लागि राजधानी सबैभन्दा उपयुक्त स्थल हो नगरकोट काठमाडौंबाट १ घण्टा ३० मिनेटको सवारी यात्रामा पुग्न सकिने भएकाले पनि यो स्थान उपयुक्त हो। लाङटाङ हिमालको मनोरम दृश्यका साथै विश्वका उत्कृष्ट दश स्थान मध्ये सूर्य उदाएको हेर्न नगरकोट धेरैको रोजाइमा पर्छ। एक दिनका बास बसाई लागि यस स्थानलाई रोज्न सकिन्छ। होटलहरु अलि मंहगा छन्। काठमाडौंको माछापोखरीबाट सोझै बस चढेर नगरकोट पुग्न सकिन्छ।

१४. सिरुबारी

स्याङ्जाको पञ्चमुल गाविस– ४ मा पर्ने सिरुबारी ’होमस्टे’का रुपमा प्रख्यात छ। गुरुङ जातिको संस्कृति भएको गाउँले परिवेशको सिरुबारीमा आन्तरिक पर्यटकहरुबो भीड लागिरहन्छ। यहाँ पुग्ने पर्यटकहरुलाई बुढापाकाले छोरा–नाती जस्तै माया र सत्कार गर्छन्। पाहुना सत्कार गर्ने राम्रो शैली छ यहाँ। हिँडेर आउनेलाई गाउँको मुखैमा र बसमा आउनेलाई बसपार्कमा उनीहरू स्वागत गर्छन्। गुरुङ पहिरनमा सजिएका महिला र पुरुषले फूलमाला लगाइदिन्छन् भने दलित समुदायले पञ्चै बाजा बजाउँछन्। पाहुनालाई सुरुमा गाउँको गुम्बा पुर्याउँछन्। त्यसपछि खान खुवाउने र नाचगानमा रमाउन पाइन्छ। एक रात बसेको हजारदेखि १५ सय खर्च लाग्छ। यहाँ घुम्ने भनेको गाउँमात्र हो। यहाँ पुग्नलाई पोखराबाट सोझै गाडी पाइन्छ। ६४ किलोटिर बाटो पार गर्न गाडीमा पाँच घण्टा लाग्छ।

१५. दामन

हिउँद महिनामा हिउँ खेल्ने गन्तव्यका रुपमा परिचित दामन नयाँ वर्षको राम्रो गन्तब्य हो। काठमाडौंबाट करिब ८० किलोमिटर टाढा रहेको दामन मकवानपुर जिल्लामा पर्छ। थानकोट–नौबिसे हुँदै पृथ्वी राजपथमार्फत सजिलै पुग्न सकिने दामनमा १२ महिना नै चिसो हावा आइरहन्छ। प्राकृतिक सुन्दरता हेर्दै चिसो हावामा रमाउन खुबै मजा आउँछ। दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ। दुई हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ। यहाँ पुगेपछि ढिडो, लोकल कुखुराको मासुको परिकारको मजाले स्वाद लिन सकिन्छ। यहाँ बस्नका लागि सामान्य होटलदेखि सुविधासम्पन्न रिसोर्टहरु छन्।

१६. भोटेचौर

काठमाडौंबाट नजिकै भएकाले ‘मिनीइलाम’ अर्थात् भोटेचौरको चियाबगान धेरैको रोजाइमा पर्छ। प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन, फोटो खिचेर आनन्द लिन भोटेचौरमा मानिसहरु झुम्मिने गर्छन्। चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु खुलेका छन्। साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ। साँखुबाटै हाइकिङ गर्दै गए झनै मजा आउँछ। हाइकिङमा पाँच घण्टाको बाटो हो।

१७. घान्द्रुक

कास्की जिल्लाको घान्द्रुक नेपालको सबैभन्दा सुन्दर गाउँ मानिन्छ। यो गाउँ अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा छ। गुरुङ जातिको बाहूल्यता र संस्कृति भएको यो गाउँ नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो। बिहान सबेरैको दृश्यावलोकन, गुरुङ संस्कृति र भेषभुषा लुगाका साथ फोटो सेशन निकै मज्जा आउँछ। जिभिन्न रंगका लालीगुराँस हेर्न पनि उत्तिकै रमाइलो लाग्छ। पोखराबाट २ घण्टाको समयमा पुगिने घान्द्रुकमा आधुनिक र सुविधासम्पन्न होटल एवं होम–स्टेको व्यवस्था छ।

१८. पञ्चासे

कास्की, पर्वत र स्याङ्जा जिल्लाको संगमस्थल मानिने पञ्चासे २८०० मिटरको उचाइमा छ। पञ्चासेमा २ वटा तालहरु रहेका छन्। विभिन्न वन्यजन्तु, विभिन्न प्रजातिका लालीगुराँस, हिमश्रृङ्खलाहरुको अवलोकनको छुट्टै आनन्द आउँछ। पञ्चासे पुग्न पोखराबाट २ घण्टाको गाडीमा यात्रा गरेपछि १ घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ। नेपालको संरक्षित क्षेत्रका रुपमा रहेको यो ठाउँमा होमस्टे र होटलहरुको व्यवस्था छ। पोखरा, प्रायः सबै हिमालहरु र दृश्यावलोकनका लागि यो ठाउँ उत्कृष्ट गन्तव्य मानिन्छ।

यसबाहेक पोखराको सिकलेस, रसुवाको गोसाइकुण्ड, प्युठानको स्वर्गद्वारी, ताप्लेजुङको पाथिभरा, बाग्लुङको ढोरपाटन लगायतका ठाउँहरु पनि विश्वमै उत्कृष्ट गन्तव्य मानिन्छन्। तपाईको आफ्नो जन्मस्थान वा घर वरपर भएका पर्यटकीय गन्तव्यबारे यो सामग्रीको तल सम्पूर्ण जानकारीसहित कमेन्ट गर्न सक्नुहुनेछ। हामी यहाँहरुले दिएका सामग्रीहरुलाई यथोचित स्थान दिनेछौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्