गृहमन्त्री हटाउन लागेकाे प्रचार गलत : प्रचण्ड सचिवालय

Ram Bahadur thapa Badal
लाेकपाटी न्यूज

काठमाडौं, १३ असार । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयले नै गृहमन्त्री रामबहादुर थापालाई हटाउने तयारी भएको चर्चाको खण्डन गरेको छ।

प्रचण्डपुत्री तथा उनकी प्रमूख स्वकीयसचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत नै चर्चामा आएको विषयमा सत्यता नभएको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्,‘राष्ट्रको चौथों अंग जिम्मेबार नबनेसम्म जनताले पाउने सूचनाको हकमाथि अन्याय हुन जान्छ।

हाम्रो पार्टीका सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमन्त्रीलाई मन्त्री पदबाट हटाउने हल्ला निराधार र भ्रमपूर्ण रहेकाले यसको पछि नलाग्न अनुरोध छ।’ यद्यपि, मन्त्रिमण्डल पुनर्गठनको विषयमा बिहीबार राती प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच परामर्श भएको दाबी गरिएको थियो। थापा हटाउने विषयमा नै कुरा अड्किएको विवरणहरू बाहिर आएका थिए ।

मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा भने प्रधानमन्त्री ओलीले मुख खोलेका छैनन्। उनले केही दिन अघिमात्र मन्त्रिपरिषद्का सदस्य हेरफेरको कुरा तत्काल हुने या नहुने भन्ने सन्दर्भमा कुनै चर्चा नगरिएको बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्