ट्राफिक व्यवस्थापनमा संसारकै उत्कृष्ट हुने गरी काम गर्छाैं :  महानिरीक्षक खनाल

Sarbendra Khanal-Nepal police
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गरी नेपालको ट्राफिक व्यवस्थापन संसारमै राम्रो छ भन्ने सन्देश दिने गरी काम गर्नु सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित समुदाय–प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण र सुरक्षित समाजका लागि सडक सभ्यता अभिवृद्धि एवम् सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायको भूमिका तथा तीन महिने कार्ययोजनाको समीक्षात्मक कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।

ट्राफिक व्यवस्थापनको लागि लागू गरिएको ‘उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना २०७५’ कार्यान्वयनको क्रममा सरोकारवाला सबै निकाय एकिकृत रुपमा अघि बढेकोले थुप्रै सफलता हासिल भएको प्रहरी महानिरीक्षक खनालले चर्चा गरे। साझेदारी कार्यक्रम मार्फत अभिमूखिकरण गरेर उपत्यकालाई सबैको साझा सहरको रुपमा जिम्मेवारी लिएर, दृढ संकल्पित भई चुस्तताका साथ अघि बढ्दा सहज रुपमा सभ्य सडक निर्माण गर्न सकिने उनले बताए।

म्यानुअल्ली सडक व्यवस्थापन गर्दा त्रुटी हुन सक्ने भए पनि प्रविधिको माध्यमबाट सडक व्यवस्थापन गर्न सकियो भने कुनै त्रुटी नआउने भएकोले अब प्रविधि मार्फत सडक व्यवस्थापन गर्नुपर्नेतर्फ उनले जोड दिए । कार्ययोजना निरन्तर चलिरहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सडक सभ्यताबाट नै राजधानी सहरलाई व्यवस्थित बनाउन सकिने विचार व्यक्त गरे।

सो अवसरमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले कार्ययोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्दै हाल भइरहेका शहर निर्माणको योजना, बाह्य चक्रपथ निर्माण लगायतका कार्यबाट उपत्यकालाई व्यवस्थित शहरको रुपमा विकास गर्न सकिने बताए।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दहालले कार्ययोजना कार्यान्वयनको क्रममा उदाहरणीय काम भएको उल्लेख गर्दै सडक व्यवस्थापन नै सभ्यताको कडी भएको बताए। देशको विकास स्थिति सवारी चालकको व्यवहारले झल्काउने भएकोले विविध योजना बनाएर सडक अनुशासन विकास गर्नुपर्नेमा उनले जाेड दिए।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सबै निकायको सहकार्यले कार्ययोजना कार्यान्वयन सफल भएको उल्लेख गरे। सडक संस्कार निर्माणको लागि दण्डनीय भन्दा पनि मननीय बनाउन सके यसले मनस्थितिमा नै परिवर्तन गरी दिगो सभ्य सडक निर्माण गर्न सकिने विचार उनले राखे।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले स्वागत मन्तव्य तथा कार्ययोजनाको समीक्षा एवं कार्यप्रगति विवरण प्रस्तुत गरे। दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि कार्ययोजना कोशेढुङ्गा साबित हुने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कार्ययोजनाले सडकसँग सम्बन्धित सबै अभियन्तालाई जोडने र सडक व्यवस्थापनको लागि सबै मिलेर अघि बढ्नुपर्छ बन्ने भावना विकास गर्न सफल भएको बताए।

उक्त अवसरमा नागरिक समाजका प्रतिनिधि कमलमणि दिक्षितले उपत्यकाको सडकमा जनमानसले भोग्नु परेको पीडालाई कम गर्न सक्ने निकाय नेपाल प्रहरी नै भएको उल्लेख गर्दै सडक व्यवस्थापन गर्नका लागि सार्वजनिक यातायातको महत्व बुझेर उच्च स्तरीय सार्वजनिक यातायात विकास गर्नुपर्ने बताए।  साथै वरिष्ठ कलाकार मनोज गजुरेलले सडक व्यवस्थापनको लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना २०७५’ गत २०७५ चैत २१ गते शुभारम्भ भएको हो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, स्थानीय निकायका प्रतिनिधिहरु, यातायात व्यवसायसँग आबद्ध संघसंस्थाका प्रतिनिधिहरु, गैह्रसरकारी संघसंस्थाका प्रतिनिधिहरु, यातायात मजदुरका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु लगायत समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्