यस्तो बन्यो गोरखामा नमूना बस्ती

  • 906
    Shares
0

काठमाडौं, २० कात्तिक। गत २०७२ वैशाख १२ गते गएको महाभूकम्पको केन्द्रविन्दु रहेको गोरखाको लाप्राकमा नमूना बस्तीको निर्माण कार्य सकिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहल र लगानीमा उक्त नमूना बस्ती निर्माण भएको हो। एनआरएनका तात्कालीन अध्यक्ष शेष घलेको विशेष सक्रियतामा उक्त बस्तीको निर्माण कार्य सम्पन्न गरिएको हो।

वैशाख १२ गते गएको विनाशकारी भूकम्पले गोरखाको बारपाक, लाप्राक लगायतका सयौं बस्ती ध्वस्त बनाएको थियो। उक्त घटनामा कम्तिमा १० हजार नेपालीले ज्यान गुमाएका थिए। भूकम्पपछि सिङ्गो गोरखा जिल्ला खण्डहरमा परिणत भएको थियो।

बाक्लो बस्ती रहेको लाप्राकमा भूकम्पपछि ठूलो पहिरो जाँदा बस्ती सारिएको हो। साबिकको बस्तीभन्दा २/३ किलोमिटर माथि रहेको सरकारी जग्गामा एनआरएनले नमूना बस्ती बनाएको हो। उक्त बस्तीका लागि प्रचण्ड नेतृत्वको सरकारले जमिन उपलब्ध गराएको थियो।

नमूना बस्तीमा ४६० भन्दा बढी परिवार रहनेछन्। नमूना बस्तीमा एकै मोडलका घरहरु बनाइएको छ। उक्त घरहरुमा स्थानीय स्तरमा प्रयोग हुने ढुङ्गामाटोको प्रयोग गरिएको छ। घरहरु पूर्णत भूकम्प प्रतिरोधी छन्। बस्तीभित्र स्वास्थ्य चौकी, विद्यालय, डे केयर सेन्टर लगायतका संरचना पनि निर्माण गरिएको छ।

आधुनिक प्रविधिबाट निर्मित घरहरु एउटै मोडलका छन्। नमूना बस्तीलाई सङ्घीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले पनि समन्वय गरिरहेका छन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, गोरखा-१ का सांसद हरिराज अधिकारी, गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापा, पूर्वसभासद छमबहादुर गुरुङले बस्तीका लागि आवश्यक सहयोग गरिरहेका छन्।

Comments
Loading...
You might also like