आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दसको सूचीमा नेपाल

Flag Nepal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ। बेलायती म्यागजिन द इकानोमिस्टले आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दस मुलुकको सूचीमा नेपाललाई राखेको छ ।

आगामी वर्ष सन् २०२० को आर्थिक वृद्धि प्रक्षेपण गर्ने क्रममा इकोनोमिस्टले नेपाललाई उक्त अवधिमा ६.९ प्रतिशत हुने अनुमानसहित उक्त सूचीको आठौं स्थानमा राखेको हो।

यो सूचीमा दक्षिण एसियाबाट बंगलादेश (तेस्रो) र भुटान (छैटौं) नेपालभन्दा अघि छन्। ती मुलुकको वृद्धिदर क्रमशः ७.७ प्रतिशत र ७.३ प्रतिशत हुने अनुमान गरिएको छ।

अर्को छिमेकी म्यान्मार (७.३ प्रतिशतको वृद्धिदरसहित) नेपालभन्दा अघि छ भने भारत नेपालभन्दा पछि १० औं स्थानमा छ ।

इकोनोमिस्ट इन्टेलिजेन्सले गरेको यो सर्वेक्षणमा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको शीर्ष दसमा सानो द्वीप राष्ट्र आइभरी कोस्ट (नवौं) बाहेक एसिया र अफ्रिकाकी मुलुक मात्र छन्।

आगामी वर्षको वृद्धिदर ३५ प्रतिशत हुने अनुमान गरिएको गायना पहिलो स्थानमा छ। गृहयुद्धले क्षतिग्रस्त बनेको मध्यपूर्वको सिरिया दोस्रो स्थानमा छ। उसको वृद्धिदर ८.९ प्रतिशत हुने अनुमान गरिएको छ।

अफ्रिकी मुलुक रुवान्डा चौथो र इथियोपिया पाँचौं स्थानमा छन्। चीनको अर्थतन्त्र भीमकाय हुँदै गएकाले आर्थिक वृद्धि पहिलेकै जस्तो हुन नसक्ने टिप्पणी इकोनोमिस्टले गरेको छ।

इकोनोमिस्टका अनुसार आगामी एक वा दुई वर्ष चीनको वृद्धदर ६ प्रतिशत हुनेछ। सन् २००४ देखि तीव्र आर्थिक वृद्धि गरिरहेको बंगलादेशले यसबीचमा अर्थतन्त्रको आकार तेब्बर बनाएको छ।

कुल राष्ट्रिय खुसी नाम दिएर अर्थतन्त्रलाई मापन गर्दै आएको भुटान आर्थिक वृद्धिको परम्परागत मापनमा पनि चम्किइरहने इकानोमिस्टको दाबी छ।

नेपाल र आइभोरिकोस्टको वृद्धिलाई उसले प्रशंसा गरेको छ। इकोनोमिस्टले सातै महादेशका १०७ मुलुकको सर्वेक्षण गरी यो सूची प्रकाशित गरेको हो।

यस अवधिमा पश्चिम युरोपले १.४ प्रतिशत, पूर्वी युरोपले २.४ प्रतिशत, उत्तर अमेरिकाले १.६ प्रतिशत, दक्षिण अमेरिकाले १.२ प्रतिशत, अफ्रिकाले २.५ प्रतिशत औसत वृद्धिदर हासिल गर्ने छन्।

एसियाको वृद्धिदर सबैभन्दा उच्च ५.२ प्रतिशत रहनेछ। विकसित मुलुकहरूमध्ये जापानको वृद्धिदर ० दशमलव ४ प्रतिशत हुनेछ।

अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानडाको वृद्धिदर २ प्रतिशतभन्दा कम हुनेछ। यस अवधिमा २०१९ को तुलनामा अधिकांश मुलुकमा ब्याजदर घट्ने र ज्यालादर बढ्ने पनि इकोनोमिस्टले प्रक्षेपण गरेको छ। – कान्तिपुर