आफन्त नेपालले गर्‍यो बेचिएकी युवतीकाे उद्दार

chelibetibechbikhan
प्रतिकात्मक तस्बिर
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ साउन। फेसबुकमार्फत चिनेको छोटो समय, म जाँदिन चिनेको छैन भन्दा पनि तिम्रो भविष्यको लागि हो भन्दा फकाएको त्यो पल अनि शंका लागेर ठाउँको नाम सोध्दा भारत हो भनेको सुन्दा छाँगाबाट खसेकी मलाई लाग्छ संसारमा नराम्रो सोच्नेसँगै सहयोगी मन भएका व्यक्तिहरु पनि छन् भन्ने।

गोरखामा जन्मिएर सुख भन्दा बढी दुःखमा हुर्किएको खुशीको पल अहिलेसम्म मेरो जीवनमा नआएको सायद अब आउँछ भन्ने कल्पनासमेत गर्न सक्दिन म। सानैमा बिवाह गरी श्रीमानको घरमा गएको मैले बिवाहको भोलीपल्टबाट नै श्रीमानबाट राम्रो व्यवहार नपाएको कारण बैवाहिक जीवन पनि असफल नै रहयो। श्रीमानले म र मेरो छोरालाई गरेको व्यवहार सम्झदा आँखा रसाएर आउँछ अनि त्यो घर सम्झन मन लाग्दैन जहाँ मैले एक पटक पनि खुशी हुने मौका नै नपाएको देखेर।

छोराको भविष्य, श्रीमानको व्यवहार, माइतीमा बाबु आमाको आर्थिक अवस्था सम्झेर आफैँ केही काम गरेर अगाडि बढ्छु भनी ५ महिना पहिला काठमाडौंमा आई थोरै पैसामा आफ्नो श्रम खर्चिएर दैनिकी अगाडि बढाइरहेको थिएँ। समयको खेलले हो या अभावले गर्दा म कसैको लहलहै तथा कुरा गराई वा काठमाडौं बस्दाको अभावलाई सहजै परिपूर्ती गर्न सक्छुहोला भन्ने आशामा फेसबुकमा चिनेको युवकले चिनेको १० दिनमा नै म काम लगाईदिन्छु भन्दा फकिएर भारतको सीलगुडीसम्म पुग्दा पनि कहाँ जादैछु भन्ने थाहा नभएर अन्योलमा परेको थिएँ।

झापामा रहेको आयुर्वेदिक औषधीको फ्याक्ट्रिमा म काम गर्छु, तिमीले पनि त्यही फ्याक्ट्रिमा औषधी प्याकिङ्गको काम गर्ने हो। महिनामा खाएर बसेर पन्ध्रहजार हुन्छ भनी काठमाडौंमा नै लिन आई  झापा पुर्‍याएको थियो मलाई दलाले । जव म झापाको बोर्डर पुगेपछि कहाँ हो भनी सोध्दा उल्टो दलालले मसँगबाट भारत जानको लागि पाँच हजार रुपैयाँ लिएको तर कहाँ जाने भन्ने विषयमा दलालले झुटो बोली भारतमा लगेर बेच्ने उदेश्य रहेछ।

जति जति गाडी अगाडि बढ्छ, मेरोे मनमा डर पैदा हुँदै जान्छ कतै म भारतमा बेचिने त, होइन अनि फेरि आत्मवल बलियो बनाउँछु यदि दलालले मलाई नराम्रो सोचेर ल्याएको रहेछ भने म पनि प्रतिक्रिया गर्छु। अन्त्यमा जे सोचेको थिएँ, त्यही भयो।

मनको डर त्रासलाई हटाएर घरमा बहिनीलाई फोन गर्न लागेको थिएँ, मोवाईलमा टावर नै थिएन। शंकाले मन झनै गरुङ्गो बनायो। आफूले आफूलाई धिक्कारें, म किन यो दलाललाई विश्वास गरेर यहाँ सम्म आएँ भनेर। अनि मन दह्रो बनाएर गाडी चालकलाई सोधें, दाइ यो कहाँ हो ? कहाँ आइपुगियो ? किन मोवाईलमा टावर छैन भनेर। दाईले सहजै उत्तर दिनुभयो, यो भारत हो बहिनी, यहाँ नेपालको सीमबाट फोन लाग्दैन भनेपछि झन शंका बढ्दै गयो। दलालको विरुद्धमा आवाज उठाउँदासँगैको गाडीमा रहेको दलाल वर्ष २२ का अशोक अधिकारी उक्त गाडीबाट हामफाली भाग्यो।

भाग्ने  क्रममा उक्त गाडी चालकले गाडी रोकी दलाललाई पक्रिन सफल भए। हामी दुबैजनालाई गाडी चालकले नै दलालको कारण भारतको सिलगुडी पुगिसकेकी मलाई उद्धार गरी पुन नेपाल फर्काउन सहयोग गर्नुभयो। झापाको काँकरभिट्टास्थित आफन्त नेपाल संस्थामा ल्याई मलाई बेचिनबाट बचाउनुभयो।

मानव बेचबिखनविरुद्धमा कार्यरत संस्था आफन्त नेपाल जिल्ला संयोजक सुनिता सापकोटाको अनुसार स्थानीय चालक तथा सहचालकबीच हुँदै आइरहेको सचेतनामुलक कार्यक्रम तथा गाडी चालकहरुसँगको समन्वयको कारण एक नेपाली चेली बेचिनबाट जोगिएको र चालकले गरेको सहयोगप्रति धन्यवाद दिएकी छन्।

उनी जस्तै धेरै नेपाली दिदिबहिनीलाई ललाईफकाई भारतमा लगेर फसाउने उक्त दलालविरुद्ध आफन्त नेपालको सहयोगमा मुद्दा दर्ता गरिएको छ। निज प्रभावित २ दिन झापा बसेर हाल काठमाडौं फर्केकी छन्। केही समय परिवारसँग बसेपछि आफन्त नेपाल चितवनस्थित सुरक्षित आवास गृह जाने योजना छ उनको। त्यहाँ रहेर सीप सिकी आत्मनिर्भर बन्न चाहन्छिन् उनी।

गाडी चालकले दलाललाई पक्रदा मनमा आनन्द महसुस गरेकी मैले दलालविरुद्ध मुद्दा दर्ता गरी अन्य दिदिबहिनीले समेत मेरो जस्तो समस्या भोग्न नपर्ने भयो भनी आफूलाई खुशी लागेको कारण गाडी चालक, आफन्त नेपाल लगायत सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु।

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईका अनुसार विगत १२ वर्षदेखि निरन्तर यस क्षेत्रमा काम गर्ने सिलसिलामा मानव बेचबिखनका नयाँ नयाँ तरिकाहरूको अनुभव गरिरहेको सन्दर्भमा यो घटनाले मानव बेचबिखन बिरुद्धको सचेतना सँगसँगै वेरोजगारीको चपेटामा परेका महिलाहरूलाई स्थानीय स्तरमै स्वरोजगारमुलक कार्यक्रम तत्काल अगाडि बढाउनुपर्ने बताउँछन्।

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्