छोरीको योजनामा आमाको हत्या, चार पक्राउ

apradhi
रासस न्यूज
0 Shares

काठमाडौं, १६ असार। आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका ७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्या उनकै छोरीको योजनाअनुसार भएको खुल्न आएको छ।

महानगरीय अपराध महाशाखाले सोमबार पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी भट्टराईको हत्यामा उनकै छोरी ईश्वरी भट्टराईको मुख्य योजना रहेको बताएको हो। प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका ४ का मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मोहम्मद रहिश र मृतककी छोरी ईश्वरीलाई पक्राउ गरेको हो।

प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे, भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो। मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो। पत्रकार सम्मेलनमा महाशाखाका प्रमूख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताए।

‘आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने।घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताए। मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्