भरतपुर महानगरकाे नगर सभा : यी हुन् महत्त्वपूर्ण निर्णय

nagarsava-4th०
लाेकपाटी न्यूज

चितवन, १६ असार । भरतपुर महानगरपालिकाको चौथो नगर सभा सोमबार सम्पन्न भएको छ । नगर सभाले मेयर रेनु दाहालबाट प्रस्तुत नीति तथा कार्यक्रम, उपमेयर पार्वती शाह ठकुरीबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेटसँगै विभिन्न विधेयकहरु पारित गरेको छ ।

सभाले आ.व. ०७६/०७७ को नीति तथा कार्यक्रम, आ.व. ०७६/०७७ को आय व्ययको विवरण, आ.व. ०७६/०७७ को अर्थ विधेयक, आ.व. ०७६/०७७ को विनियोजन विधेयक, राजश्व विधेयक २०७६, आर्थिक कार्यविधि नियमित गर्न बनेको विधेयक २०७६, सार्वजनिक नियमावली, २०७६ लाई व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

नगरसभाले विकास निर्माणलाई दिगो पारदर्शी र गुणस्तरीय बनाउने समेत निर्णय लिएको छ । सभाले उत्पादनको क्षेत्रमा लगानी केन्द्रीत गर्ने निर्णय गरेको छ । शिक्षा, स्वास्थ्य र पर्यटनको विकास र विस्तारमा केन्द्रीत हुने प्रतिज्ञा गरेको छ ।

कर्मचारीहरूलाई काममा केन्द्रीत गर्न प्रोत्साहनको व्यवस्था गर्ने निर्णय लिएको छ । महानगरपालिका हाताभित्र सुर्ति, चुरोट, खैनी, गुट्खाको प्रयोगमा निषेध गरेको छ ।

त्यसैगरी सभाले भरतपुर महानगरपालिकाको नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६, सार्वजनिक खरिद नियमावली २०७६ लाई व्यवस्था गर्न बनेको विधेयक, भरतपुर महानगरपालिकाको नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ ।

नगर सभामा नगर सदस्यहरु किशोर पौडेल, राममाया पिया, चुन्चा परियार, प्रेमप्रसाद पाठक, दामोदर सुवेदी, किशोर सापकोटा, शान्ति पराजुली, लक्ष्मीदेवी महतो, बलराम जीसीलगायत १८ जनाले छलफलमा भाग लिएका थिए ।

मध्य नेपालको सुन्दर शहर, समृद्ध र सुसँस्कृत भरतपुर महानगर भन्ने मूल नारासाथ भएको सभामा विभिन्न विषयगत समितिका संयोजकहरु अरुण पीडित भण्डारी, पदमपाणी सुवेदी, चित्रसेन अधिकारी, विष्णुराज महतो, जयराम श्रेष्ठ, दामोदर न्यौपाने, विजय भुजेल लगायतले नगर सदस्यहरुको गुनासोको सम्बोधन गर्दै आफ्ना धारणा राखेका थिए । प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगरपालिकाले प्रवाह गरेका विषय र योजनाहरुको बारेमा धारणा राखेका थिए । सभामा उपमेयर ठकुरीले न्यायिक प्रतिवेदन पेश गरेकी थिइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शनिबार नगर सभाकाे समुद्घाटन गरेका थिए । साेमबार सम्पन्न सभाले भरतपुरका संस्थापक मेयर मुक्तिलाल चुकेको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै भरतपुर महानगरपालिकाको विशेष नापी गर्ने निर्णय पनि सभाले गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्