मिडिया दर्ता, नवीकरण र नियमन व्यवस्थित गर्दै रजिष्टार सापकाेटा

Press-registrar 1
लाेकपाटी न्यूज

काठमाडौं, १७ असार । अब मिडियाको दर्ता, नवीकरण र नियमन प्रदेशबाटै हुने भएको छ। रेडियो, स्याटलाइटबाहेक टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण अब प्रदेश ३ को सरकार अन्तर्गतको संचार रजिष्ट्रारको कार्यालयले गर्ने भएको हो।

पत्रपत्रिकाको अभिलेख राख्ने, पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नविकरण पनि सञ्चार रजिष्ट्रार कार्यालयले गर्नेछ।  प्रदेशको अधिकार तथा कार्य विस्तृतिकरणलाई पालना गर्दै बनेका प्रदेश संचार माध्यम व्यवस्थापन ऐन-२०७५ र नियमावली २०७६ अनुसार प्रदेशमार्फत काम हुन लागेको हो। असार ९ गते बसेको प्रदेश ३ मन्त्रिपरिषद् बैठकले प्रदेश सञ्चार माध्यम नियमावली स्वीकृत गरेको थियो।

मन्त्रिपरिषद् निर्णय अनुसार आमसञ्चार माध्यमको दर्ता, नवीकरण र अभिलेख राख्न बाटो खुलेको हो। प्रदेश ३ ले बनाएको ऐन र नियमावलीमा संचार रजिष्ट्रारको कार्यालयले पुस्तकको अभिलेख राख्ने रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिए।

प्रदेशको अधिकार तथा कार्यविस्तृतिकरणमा प्रदेशस्तरका विद्युतीय सञ्चार माध्यम सञ्चालन, अनुमति, नविकरण र नियमन, छापासञ्चार माध्यमको दर्ता, अनुमति, अचारसंहिता निर्धारण, अभिलेखांकन, वर्गीकरण, सञ्चालन र नियमन, अनलाइन मिडिया र अन्य प्रविधिमा आधारित सञ्चार माध्यमको दर्ता, नविकरण, अभिलेख र अनुगमन र नियमन गर्ने अधिकार प्रदेशलाई दिइएको छ।

प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण, श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक अनुगमन, प्रदेशस्तरीय रजिष्ट्रार र केवल वितरणको इजाजत, नविकरण र नियमन गर्ने अधिकार पनि कार्यविस्तृतिकरणमा प्रदेशको अधिकार क्षेत्र भित्र तोकिएको छ।

सञ्चार रजिष्ट्रारको कार्यालयमा प्रदेश सरकारको सरकारी तथा सार्वजनिक नियकाबाट प्रकाशित सामग्री, सूचना तथा निर्णय संकलन गरी नागरिकलाई उपलब्ध गराउन सूचना बैंकको स्थापना हुनेछ। सञ्चार रजिष्ट्रारको कार्यालय अहिले प्रदेशको राजधानी हेटौंडामा रहेको छ।

नियमावलीमा भएको व्यवस्था अनुसार ऐन प्रारम्भ हुनु भन्दा अघि प्रकाशन हुँदै आएका पत्रपत्रिका, प्रसारण हुँदै आएका एफएम रेडियो, टेलिभिजन, अनलाइन र पुस्तक प्रकाशनको अभिलेख सञ्चार रजिष्ट्रारको कार्यालयमा गराउनु पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्