काठमाडौं, १८ असार । एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ प्रतियोगितामा नेपालले चीनमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ।
नेपालको जीतमा सागर ढकाल नायक बने। उनले ६ विकेट लिएपछि चीन मात्र २३.१ ओभरमा ५३ रनमा समेटियो। मलेसियाको किनारा ओभलमा भएको खेलमा ९.१ ओभरमा ३ मेडेनसहित मात्र १९ खर्चेर प्लेयर अफ द म्याच सागरले चीनका ६ खेलाडीलाई पभेलियन फर्काए।
यस्तै, तीलक राज भण्डारीले ३ तथा कमलसिंह ऐरीले १ विकेट लिए। जवाफी ब्याटिङमा उत्रेको नेपालले उक्त लक्ष्य मात्र ५ ओभरमा विना कुनै विकेटको क्षतिमा पछ्यायो।पवन सर्राफले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ४६ रन बनाए।
उनले यस क्रममा ३ छक्का र ६ चौका हाने।रीत गौतमले १० रनको योगदान दिए।नेपालले अब शुक्रबार सिंगापुरको सामना गर्नेछ।