काठमाडौं, १८ असार । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो। मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ। नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन-चार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए। उक्त प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न तीन–चार दिन लाग्नेछ, मौसमविद् प्रधानाङ्गले बताए।अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको बताइएको छ।
तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्नमा चर्को घाम लाग्ने र दिउँसो बदली हुने क्रम जारी छ।
भोलि देशभर आंशिकदेखि सामान्य बदली रही धेरै जसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मध्य र पश्चिमको एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ।त्यस्तै शुक्रबार देशभर सामान्य बदली रही देशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा सामान्यतया मनसुन प्रवेश गर्ने समय जुन १० हो। यस वर्ष १२ दिन ढिलो गरी मनसुन भित्रिए पनि अझै सक्रिय बन्न्न सकेको छैन। नेपालमा साधारणतयाः जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८०५ वर्षा हुने गर्छ।