काठमाडौं, १९ असार । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार पारिसकेको बताएका छन्। सैद्धान्तिक विषयमा कुरा मिल्नासाथ समायोजनको काम सकिने उनको भनाइ छ।
बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा खनालले भने, ‘अहिलेदेखि नै प्रदेशको अभ्यास गरिरहेका छौं, समायोजनको निम्ति तयारी अवस्थामा छौं। सैद्धान्तिक कुरा मिल्नासाथ सबै मिल्छ।’कुन प्रदेशमा कति जनशक्ति चाहिन्छ भनेर प्रारम्भिक तथ्यांक तयार पारेको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाएको उनले जानकारी दिए।
बैठकमा गृह सचिव प्रेम राईले नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न नसकिने बताए।
समायोजन रोज्ने निजामती कर्मचारीहरुको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका बेला गृहसचिव राईले त्यसो गरिए अप्ठेरो पर्ने बताए। तर, कस्तो खालको अप्ठेरो हो, उनले विस्तृतमा खुलाएनन्।
समायोजनको क्रममा डीएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने र माथिको पद केन्द्र मातहत रहने भनेर प्रारम्भिक प्रस्ताव तयार पारेको जानकारी दिए। उनले भने, ‘यसमा अझै गृहकार्य गरौं, हामी आज नै ठोस प्रस्ताव तयार पार्छौं र त्यसमा थप छलफल गरेर टुंगो लगाउँला।’