काठमाडौं, २३ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन्।युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमबार सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेका हुन्।
सिलवाललाई सोमबारै खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री विश्वकर्माले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।निवर्तमान सदस्यसचिव केशवकुमार विष्टको चारवर्षे कार्यकाल असार ९ गते पूरा भएपछि रिक्त पदमा सिलवाललाई नियुक्त गरिएको हो।
सिलवाललाई पहिला राष्ट्रिय खेलकुद संघको तर्फबाट रिक्त कोटामा परिषद् सदस्यमा नियुक्त गरेपछि सदस्यसचिवको जिम्मेवारी तोकिएको हो।सिलवाललाई आइतबार नेपाल भलिबल संघले राखेपको बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस गरेको थियो।
संघहरुको प्रतिनिधित्व गर्दै परिषद्मा नियुक्ति लिएका राखेपका निर्वतमान सदस्यसचिव विष्ट र सदस्य राजेन्द्र श्रेष्ठको पदावधि सकिएपछि दुई पद रिक्त थियो।सिलवाल यसअघि विष्ट नेतृत्वको परिषद्बाट गठित नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समितिको अध्यक्ष थिए। सिलवाल पूर्वक्यान उपाध्यक्ष पनि हुन्।
उनी मदन भण्डारी स्पोट्र्स फाउन्डेसनका संस्थापक अध्यक्षसमेत हुन् ।गोल्डेनगेट कलेजका ‘सीइओ’ उनी उच्च माध्यामिक विद्यालयहरुको संस्था ‘हिसान’को अध्यक्षसमेत भएका थिए ।