आइतबारसम्मको मौसम पूर्वानुमान, सतर्कता अपनाउन महाशाखाको आग्रह

Cloudy sky
लाेकपाटी न्यूज

काठमाडौं, २७ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी आइतबारसम्म देशको मध्य र पूर्वी भेगमा लगातार र भारी वर्षा जारी रहनेछ। पश्चिमी क्षेत्रमा पनि मौसम बदली भइरहनेछ। सोमबारदेखि मौसममा सुधार हुनसक्छ तर ढुक्क भइहाल्ने अवस्था भने छैन।

मौसमविद मीनकुमार अर्यालका अनुसार आइतबार साँझदेखि भारी वर्षामा कमी आउने आँकलन गरिएको छ।मनसुन अहिले पूरै नेपालमा केन्द्रीत भएकाले वर्षा बेला बेलामा केही बेर रोकिए पनि निरन्तर भइरहनेछ।

मौसमविद अर्यालले भने ‘अहिले मनसुन न्युन चापीय रेखा नेपालको तराई भू-भागमा अवस्थित छ। यसका साथै मध्य र पूर्वी भूभागमा न्युन चापीय क्षेत्रसमेत रहेकाले क्रस हुँदा लगातार तीन दिनसम्म मनसुन अति सक्रिय हुने भएकाले सोही अनुसार तयारी गर्नुहोला।’

अर्यालले वर्षातसँगै हावाहुरी आउने र शनिवार मध्य पहाड र तराईका क्षेत्रमा ५ मिलिमिटर भन्दा माथिको भारी वर्षात हुने बताए। यो क्रम आइतबार रातिसम्म कायमै रहने र सोमबारको अवस्था अहिले नै आँकलन गर्न नसकिने अर्यालले जानकारी दिए।

जुलाई र अगष्ट भारी वर्षाकै समय भएकाले अहिले नेपालमा केन्द्रीत मनसुन स्वभाविक रहेको उनको भनाइ छ।देशका खासगरी पूर्वी र मध्य क्षेत्रका बासिन्दाले आवश्यक सतर्कता अपनाउनुपर्ने महाशाखाले बताएको छ।

पूर्वी र मध्य पहाडी क्षेत्रका भू भागमा पहिरोको जोखिम रहेको र तराई क्षेत्रका नदीहरुमा पानीको बहाव र स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने देखिएको महाशाखाले जनाएको छ। महाशाखाले देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्