यातायात व्यवसायी र विद्यार्थीबीच तीन बुँदे सहमति

publice bus
लाेकपाटी न्यूज
0 Shares

रसुवा, २९ आसार । पासाङल्हामू राजमार्गमा चल्ने सार्वजनिक यातायातमा १५ प्रतिशतसम्म भाडा घट्ने भएको छ।विगत लामो समयदेखि आन्दोलनरत् विद्यार्थी संगठन र यातायात व्यवसायीबीच शनिबार तीन बुँदे सहमति भएसँगै भाडा घट्ने भएको हो।

रसुवामा संचालिन यातायात कम्पनिले हाल कायम रहेको भाडादरमा काठमाडौंदेखि कालिकास्थानसम्म १५ प्रतिशत र धुन्चे, स्यफ्रुबेशी, चिलिमे लगायतका क्षेत्रमा ५ प्रतिशत भाडा घटाउने सहमति भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनका नेता अर्जुन पौडेलले जानकारी दिए। सहमति श्रावण १ गते देखि लागू हुनेछ। पासाङल्हामू राजमार्गको रसुवा खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनका लागि व्यवसायी र विद्यार्थी संगठनबीच उक्त सहमति भएको पौडेलले बताए।

यातायात क्षेत्रमा विद्यमान समस्याको समाधानको लागि तत्काल प्रक्रिया अघि बढाउने सहमतिपत्रमा उल्लेख छ ।
सहमतिअनुसार सार्वजनिक यातायातका सवारी साधनमा नेपाल सरकारको प्रचलित नियमअनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिने छुट र सहुलियतलाई पूर्ण रुपमा कार्यान्वयन गरिने छ। छुट सहुलियतका लागि सम्बन्धित व्यक्तिले छोटो दूरीमा परिचय-पत्र र लामो दूरीमा परिचय-पत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्ने सहमति भएको पौडेलले बताए।

सार्वजनिक यातायातका साधनले अतिरिक्त सेवा दिने भन्दै भाडा बढी लिने गरे पनि सेवा भने दिने गरेका छैनन्।
सहमतिपत्रमा यसको समाधानको लागि १५ दिनको समयसिमा तोकिएको छ। व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधा वापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसी लगायतका सामग्रीको व्यवस्था गर्नुपर्ने तथा बिग्रिएको भए तत्काल मर्मत गर्नुपर्ने छ।

प्रमूख जिल्ला अधिकारी अर्जुन भण्डारी, अनुसन्धान अधिकृत र नागरिक समाजको उपस्थितमा सदरमुकाम धुन्चेमा भएको छलफलमा यातायात व्यवसायिकको तर्फबाट धनबहादुर श्रेष्ठ, हरि प्रसाद न्यौपाने, ईश्वर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो। विद्यार्थी संगठनको तर्फबाट अर्जुन पौडेल, मेन्डोल्मा तामाङ, दिपक पौडेल ,सन्दिप पौडेल, सुशील नगरकोटीलगायतको उपस्थिति रहेको थियो।

      1                          

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्