बेइजिङ, २९ आसार । चीनले अमेरिकालाई आगोसँग नखेल्न चेतावनी दिएको छ। ताईवानलाई ३ सय करोड भन्दा बढी मूल्यका हतियार र ट्यांक बेच्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बताउँदै चीनले अमेरिकी सरकारको यो निर्णय आगोसँग खेल्नुजस्तै भएको बताएको छ।
ताईवानलाई हतियार बेच्ने ट्रम्प प्रशासनको निर्णय चीनको सम्प्रभुता राष्ट्रिय सुरक्षाका लागि खतरा भएको चीनको भनाई छ। गत शुक्रबार अमेरिकी विदेश विभागलाई ताइवानलाई १०८ अब्राहम ट्यांक र २५० स्टिंगर मिसाइलको बिक्रि गर्न अनुमति दिएको पेन्टागनले जनाएको थियो। यो सम्झौताले सैन्य सन्तुलनमा कुनै असर नहुने अमेरिकाले बताएको थियो।
तर, चीनले भने यसमा आपत्ती जनाउँदै सम्झौता रद्द्द गर्न माग गरेको छ। चीनको बयान ताईवानी राष्ट्रपति साई इंग वेन अमेरिका र क्यारेबियन देशहरुको यात्रामा रहेको बेला आएको छ। चीनले कम्पनीमाथि प्रतिबन्ध लगाउने बताएको छ । चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ शुआङले भने, “अमेरिकाले आधिकारिक रुपमा एक चीन नीतिलाई मान्यता दिएको थियो।
तर, ताईवानसँग भएको हतियार डीलबाट यो सीद्धान्तको उल्लंघन गरेको छ। चीनले ताईवानलाई हतियार बेच्ने कम्पनीमाथि प्रतिबन्ध लगाउने छ।”अमेरिकी विदेश मन्त्रालयले भने चीनको यो बयानमाथि टिप्पणी गर्न अस्वीकार गरेको छ।