पाइपलाइनको उद्घाटन गरिने, किन राेकियाे मोदीकाे नेपाल भ्रमण ?

modi2
लाेकपाटी न्यूज

काठमाडौं, ५ साउन । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना परीक्षण सम्पन्न भएसँगै नेपाल–भारत सरकार त्यसको उद्घाटनको तयारीमा लागेका छन्।  दुबै देशका प्रधानमन्त्रीले सो परियोजना उद्घाटन गर्ने तयारी भइरहे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन्।

मोदी नआउने भएपछि पाइपलाइन परियोजनालाई कसरी उद्घाटन गराउने भन्ने विषयमा छलफल भइरहेको छ।  अब प्रधानमन्त्री मोदीले भिडियो कम्फरेन्समार्फत उद्घाटन गर्ने लगभग तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

पाइपलाइन परियोजनाको उद्घाटन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले बताए। यद्यपि टुंगोमा पुगि नसकिएको उनले बताए। परराष्ट्र मन्त्रालय भारतीय महाशाखाका प्रमूख यज्ञबहादुर हमालले पनि उद्घाटन बारेमा छलफल नै चलिरहेको तर अहिले टुङ्गो नलागेको बताए।

‘भर्खर परीक्षण सकिएको छ, त्यसका बारेमा सरकारले केही न केही निर्णय लेला तर अहिले केही भन्ने अवस्था छैन’, उनले भने। मोदीले फेरि प्रधानमन्त्री बनेपछि एक पटक पशुपतिको दर्शन गर्ने योजना बनाएका थिए। सोही क्रममा पाइपलाइन र रेलको उद्घाटन गर्ने सोच बनाएका थिए। त्यसका लागि दुबै देशबाट तयारी पनि भइरहेको थियो। तर, अचानक नेपालमा भारत विरोधी गतिविधि सुरु भएपछि मोदीको नेपाल आउने कार्यक्रम तत्कालका लागि स्थगित भएको छ।

क्लिन फिड, आइफा अवार्ड, तरकारीमा विषादी परीक्षण लगायतका विषय लिएर नेपालमा भारतको आलोचना भइरहेको छ। यस्तो अवस्थामा आउँदा विरोध हुने डरले तत्कालका लागि भ्रमण स्थगित गरिएको बताइएको छ।यो परियोजनाका लागि नेपाल–भारतबीच २०७२ भदौ ७ गते सम्झौता भएको थियो ।

सम्झौता भएको तीन वर्षपछि २०७४ चैत २४ गते दिल्लीबाटै मोदी र ओलीले संयुक्त रूपमा स्विच थिचेर परियोजनाको शिलान्याश गरेका थिए। नेपालस्थित भारतीय दूतावासका प्रवक्ता अभिषेक दुवेदीले परियोजनाको उद्घाटन कसरी गराउने त्यसको बारेमा दूतावासलाई कुनै जानकारी नआएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्