क्लिन फिड लागू गरेरै छाड्छौं : मन्त्री बास्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापनसम्बन्धी विधेयकबाट क्लिन फिड लागू गरेरै छाड्ने अडान दोर्होयाएका छन्। सोमबार संसदको विकास समिति बैठकमा उनले क्लिन फिडसम्बन्धी व्यवस्था हटाउन माग गर्दै संशोधन दर्ता गराउने सांसदलाई उक्त संशोधन फिर्ता लिन आग्रह गरे।

‘जतिचोटी छलफल गरे पनि क्लिन फिड हुँदैन भनेर मान्न सकिँदैन। यो विधेयकको मूल आत्मा नै मार्ने कुरा सम्भव छैन। यो बुझेर झिकिदिन आग्रह गर्दछु’ उनले भने।क्लिन फिड लागू गर्न नहुने भन्दै सांसद लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले संशोधन दर्ता गराएका छन्।

सोमबारको छलफलमा भने उनीहरु सहभागी थिएनन्। तर, मन्त्री बास्कोटाले संशोधन प्रस्तावको प्रसंग कोट्याउँदै भने, ‘क्लिन फिड चाहिँदैन भन्ने पनि संशोधन आएको छ, यो मान्न सकिँदैन। राष्ट्रको भावना बुझेर फिर्ता लिइदिन अनुरोध छ।’

उनले अमेरिका, भारत, कोरियालगायतका देशमा समेत क्लिन फिड रहेको बताउँदै उनले यो अन्तर्राष्ट्रिय अभ्यास भएको बताए। उनले भने, ‘कथित स्वतन्त्रताको वकालत गरेर हुँदैन, राष्ट्रियताको विषयलाई ख्याल गर्नुपर्छ।’ क्लिन फिड राष्ट्रियता र रोजगारीसँग पनि जोडिएको उनको भनाइ छ। ‘कोकाकोलाको विज्ञापनमा साहसिक देखाइएको छ।

त्यो नेपालको हिमालको फेदीमा खिच्न सकिन्थ्यो, नेपाली कलाकारहरुले अवसर पाउँथे। त्यसकारण यो क्लिन फिड बजारमात्र नभएर हाम्रो कला संस्कृतिसँग पनि जोडिएको छ। आम्दानीको स्रोतसँग पनि जोडिएको छ, कलाकारले पाउने रोजगारीसँग पनि जोडिएको छ।’