स्कुल विभाग मलाई दिएर न्याय गर्नुस् : घनश्याम भुसाल

Ghanashyam bhusal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य घनश्याम भुसालले पार्टी स्कुल विभागमा दाबेदारी प्रस्तुत गरेका छन् । सचिवालय सदस्यहरुबीच नै स्कुल विभाग लिने बिषयमा विवाद भइरहेको बेला भुसालले पनि स्कुल विभागमा आफ्नो दाबेदारी गरेका हुन् ।

विभागहरुको बाँडफाँड सचिवालय बैठकमा नै टुंगो लगाउने भएपछि नेता भुसालले नेताहरुलाई भेटेर दाबेदारी सुनाएको पार्टी निकट स्रोतले बतायो । उनले शीर्ष नेताहरुलाई भेटेर भनेका छन्, ‘यदि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा न्याय छ भने स्कुल विभागको जिम्मेवारी मलाई दिनुहोस् । म यसको स्वभाविक दाबेदार हुँ ।’

नेकपाको पूर्वनिर्धारित सचिवालय बैठक स्कुल विभागको बिषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ । केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिने बिषयमा सहमति गरेका शीर्ष नेताहरु आफैंले लिने जिम्मेवारी बिषयमा भने बिभाजित भएका छन् ।

मंगलबार बोलाइएको सचिवालय बैठक स्कुल विभागमा सहमति जुट्न नसकेपछि स्थगित भएको एक सचिवायल सदस्यले बताए । स्कुलिङ विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को दाबी छ ।

पार्टीले अंगिकार गरेको सिद्धान्तको बारेमा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नु यो विभागको मुख्य काम हो । पाठ्क्रम नै बनाएर केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरुलाई पढाउने काम यो विभागले गर्छ । नेता तथा कार्यकर्ताहरुलाई वैचारिक रुपमा प्रष्ट र स्पातिलो बनाउने काम यो विभागको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्