गाउँपालिका कार्यालयभित्रै चल्छ वडाध्यक्षकाे मदिरा पसल

6
लाेकपाटी न्यूज

बैतडी, १० साउन । बाँयातिर नेपाली झण्डा गाडिएको छ। भवनमाथि गाउँपालिकाको साईनबोर्ड छ। एउटा कोठामा स्थानीय सरकार र अर्कोमा मदिरा पसल बेजोडले चलेको छ भन्दा पत्याउन मुश्किल पर्छ। तर, सबैलाई चकित पार्ने यो यथार्थ बैतडी जिल्लाको सिगास गाउँपालिकामा दिनानुदिन चलिरहेको छ।

सिगास गाउँपालिका केन्द्र गर्जेमा खानेपानीको धारा छैन। सडक र बिजुली पनि पुग्न सकेको छैन। यहाँ दूध, तरकारी र फलफूल पनि पाइन्न। तर खच्चरमा ढुवानी गरेर त्यहाँ छ्यापछ्याप्ती मदिरा उपलब्ध गराइएको छ।

गाउँपालिकाको यही भवनमा सिगास गाउँपालिका वडा नं. ८ का अध्यक्ष कर्णबहादुर ऐरले मदिरा पसल संचालन गरेका छन्। गाउँपालिका कार्यालयको प्राङगणमा रक्सीका सिसीहरू छरपस्ट देखिन्छन्।

यहाँ जनप्रतिनिधि, सेवाग्राही र कर्मचारी दिउँसै मदिरा सेवन गरी लठ्ठिएको अवस्थामा भेटिने गरिएको स्थानीयको जनगुनासो छ। मदिरा पसल बन्द गर्न स्थानीयबासीले पटक पटक माग गरे पनि कुनै सुनुवाई नभएको स्थानीय युवा राजेन्द्र साउदले बताए।

गाउँपालिकाले मदिरा नियन्त्रण र नियमन गर्न निर्दे्शिका जारी गरिए पनि नियन्त्रण र नियमन गर्ने निकायका जनप्रतिनिधिले नै यस्तो धन्दा गरेपछि स्थानीय दिक्क भएका छन्। यो खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्