निर्मला हत्याको एक वर्षः दर्जन समिति बने, हत्यारा भेटिएन

nirmala-panta-
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । कन्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष छ। यो अवधिमा अनुसन्धानका अनेकौं सूत्र प्रयोग भए पनि अहिलेसम्म हत्यारानजिक प्रहरी–प्रशासन पुग्न सकेको छैन।

२०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न जान्छु भनेर गएकी १३ वर्षीय बालिका निर्मला दोस्रो दिन साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो। शव परीक्षण रिपोर्टमा उल्लेख भए अनुसार निर्मलाको साउन १० गते दिउँसो ३ बजेतिर बलात्कारपछि हत्या भएको थियो।

उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणबाट पुष्टि भएपनि अहिले सम्म दोषि पत्ता लागेको छैन्। केही व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि पछि दोषि भएको पुष्टि नभएपछि उनीहरुलाई छाडियो। त्यसपछि अहिलेसम्म निर्मला हत्या प्रकरण छानविनमा प्रहरी प्रशासन असफल भएको छ।

निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि थुप्रै समिति बने पनि ठोस निष्कर्ष कतैबाट आएन। यो अवधिमा शंकास्पद भनिएका ५ सय २९ जनासँग बयान लिइएको छ। त्यस्तै ७३ जनाको डीएनए परीक्षण गरिएको छ। अभियुक्त भने समातिएनन्। निर्मला पन्तको बलात्कारपछि हत्या एको यो एक वर्षको अवधिमा अनुसन्धानमा लापर्वाही भएको भन्दै प्रहरीले नै आफ्नो कमजोरी स्वीकार्‍यो। तत्कालीन एसपी डिल्लीराज विष्टसहित प्रहरी अधिकारीलाई कारवाहीसमेत भयो। तर घटनाको नतिजामा प्रहरी पुग्न सकेन।

शव भेटिएकै दिनदेखि स्थानीय महिला र अधिकारकर्मीले हत्यारा पत्ता लगाउन माग गर्दै निरन्तर आन्दोलन गरे। भदौ ४ मा प्रहरीले मुख्य आरोपीका रुपमा भीमदत्त २ बागफाँटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरे पनि आन्दोलन झनै चर्केको थियो। प्रहरीले विभिन्न समय सोधपुछका क्रममा नियन्त्रणमा लिएकाहरू कसैको पनि कसुर पुष्टि हुन नसक्दा प्रहरीको अनुसन्धानको शैली नै विवादमा पर्दै आएको छ। दोषी पक्राउको माग गर्दै गत भदौ ७ र ८ मा भएको प्रदर्शनमा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा थुप्रैजना घाइते भए भने वडा १८ कै शनि खुनाको मृत्यु भएको थियो।

निर्मलाको हत्यारा पत्ता लाग्न नसक्दा पीढा कम नभई झनै बल्झिदै गएको उनका बाबु–आमा बताउँछन्। न्याय खोज्दाखोज्दै वर्ष बितेपनि अझै न्याय पाउन नसक्दा पीडा थपिदै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्।‘निर्मला हत्याको वर्षदिन भइसक्दा पनि प्रहरीले किन हत्यारा पत्ता लगाउन सकेन,’ उनले भनिन्, ‘निर्मलाको हत्यारा पत्ता नलाग्दा वर्षदिनसम्म पनि पीडा आलै छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्