अर्घाखाँचीको लोक संगीत संसारकै युनिक : पूर्व उपप्रधानमन्त्री रायमाझी

Top-Bahadur-Rayamajhi
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं ११ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको लोक संगितलाई संसारकै ‘युनिक’ संस्कृतिको रुपमा चित्रण गरेका छन् ।

शनिवार अर्घाखाँची सरोकार समाजले रिपोर्टर्स क्लब नेपालमा मोतीराज खनाल र राधा आचार्य अधिकारीको स्वरमा रहेको ‘सधैं तमासा’ नामक तीज गीतको बिमोचन गर्दै रायमाझीले यस्तो बताएका हुन् । उनले अर्घाखाँची प्राकृतिक, भौगोलिक तथा साँस्कृतिक रुपमा निकै धनी रहेको बताउँदै अर्घाखाँचीको पहिचानलाई संसारसामु चिनाउन आवश्यक रहेको बताए ।

गीत संगीतको माध्यमबाट संस्कृितको व्याकरणदेखि भगवान शिवले महिनौं अध्ययन तथा अनुसन्धान गरेको साथै पतञ्जली ऋषिले तपस्या गरेको ठाँउको रुपमा पनि अर्घाखाँचीलाई विश्वभरि चिनाउन आवश्यक रहेको रायमाझीले बताए ।

जिल्लामा रहेका पौराणिक तथा सांस्कृतिक धरोहर र स्थानीय मौलिकतामा निकै धनी रहेको बताउँदै जिल्लाको विकास निर्माणका योजनामा बृद्वि भईरहेको पनि नेता रायमाझीले दाबी गरे ।

ढोरपाटन जाने बाटोनिकट भविष्यमा सम्पन्न हुने जानकारी गराउँदै उनले सुपा देउराली नजिकको बाटो पनि चार लेनको हुने प्रक्रिया शुरु भईसकेको जनाए । उनले भने, ‘अहिले सुपा देउरालीमा हजारौंले रोजगारी पाईरहेका छन् । धार्मिक पर्यटन र सांस्कृतिक संगित क्षेत्रमा पनि अहिले ठूलो प्रगति भइरहेको छ । यसले हामीलाई गर्व तुल्याएको छ ।’

मोतीराज खनालको शब्द तथा गिता पराजुलीको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो । चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी र भीमा लामाको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गुरु आमा तथा स्मृति तिमिल्सिनाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका छन् भने कमल सौरागले एरेन्ज गरेका छन् ।

नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको विशेष अवसर पारेर बजारमा सार्वजनिक उक्त गीतले नेपाली समाजमा रहेका बेथितिहरुको बारेमा उजागर गरेको छ ।

कार्यक्रममा उक्त गीती एल्बम बजारमा ल्याउन योगदान पु¥याउने कलाकार तथा स्रष्टाहरुलाई अर्घाखाँची सरोकार समाजले ‘गायक मोतीराज खनाल तथा गायिका राधा अधिकारी प्रमाणपत्र’ प्रदान गरेको छ ।

उक्त अवसरमा समाजले कमल गाउँले, सन्तोष केसी, सुनिल बिसी, रञ्जु अधिकारी, नारायण पाण्डे, सरिता पाण्डे, कृष्ण सापकोटा, लक्ष्मण चापागाँई र गिता पराजुलीलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।