अरुणकाे याकुमा निकालियाे डिप बाेरिङबाट पानी

deep boring
लाेकपाटी न्यूज

भोजपुर, ११ साउन । भाेजपुरकाे अरुण गाउँपालिकामा खानेपानीकाे समस्या समाधानका लागि डिप बाेरिङबाट पानी निकालिएकाे छ । गाउँपालिकाकाे सक्रियतामा अरुण गाउँपालिका वडा नम्बर ५ स्थित याकुमा डिप बाेरिङबाट पानी निकालिएकाे हाे ।

खानेपानीको समस्या भएर स्थानीयहरु बसाईं सर्ने क्रम बढेकाले खानेपानीको समस्या समाधान गर्न गाउँपालीकाले डिप बोरिङ प्रविधिबाट पानी निकालेको गाउँपालीकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले बताए ।

पानीका मुहानहरु सुक्दै गएपछि बस्तीमा खानेपानीकाे हाहाकार भएकाे थियाे। वस्ती आसपास रहेका पानीको मुहानहरु सुक्न थालेपछि पानीको समस्या समाधानका लागि डिप बाेरिङ प्रविधिबाट पानी निकालिएको गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले बताइन् ।

पानीको समस्या खेपेका स्थानीय उक्त प्रविधिबाट पानी निकाल्दा धेरै उत्साहित बनेका छन् । स्थानीय टिका काफ्लेले भनिन् ‘खानेपानी, लुगाकपडा धुने, बस्तुलाई खुवाउने, बोट विरुवामा लाउने पनि पानी छैन, अहिले गाउँपालिकाले डिप बोरिङबाट पानी निकाल्दा धेरै खुशी छौँ ।’

डिप बोरिङबाट जमिनमा पानी निकाल्न २० लाख र पानीको टयांकी सम्म पानी लगी घरघरमा वितरण गर्न करीब २० लाख गरी कुल ४० लाखमा उक्त खानेपानी योजनाको काम सक्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीले भने, ‘गाडी किन्न पैसा छुट्याएको, पानीको हाहाकार भयो, गाडी भन्दा खानेपानी आवश्यक भएकाले गाडी किन्ने पैसा यता लगानी गरेका हाैं ।’ गाउँपालिका क्षेत्रभित्र खानेपानीको समस्या समाधान गर्न लिफ्टिङ, बोरिङ प्रविधिका अन्य दुई–दुई ओटा योजनाहरु समेत सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्