चौधरी ग्रुपविरुद्ध प्रदर्शन

Chaudhary_gurup_udyog
लाेकपाटी न्यूज

देवचुली, १४ साउन। नवलपरासी पूर्व (नवलपुर) को देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धूलोले आफूहरुको स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन्। चौधरी गु्रपको चौधरी गु्रप अफ इण्डस्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै प्रभावित भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन्।

स्थानीयवासीले उद्योगबाट निस्कने धूलो, धुँवाको उचित व्यवस्थापन गर्न उद्योगले पहल नगरेको भन्दै सोमबार उद्योग अगाडि एक घण्टा धर्नासमेत दिएका थिए। उद्योगले धूलो, धुँवा व्यवस्थापनका लागि कुनै पहल नगर्दासम्म दैनिकरूपमा १ घण्टा उद्योग अगाडि धर्ना दिने स्थानीयवासी सुकमाया विश्वकर्माले बताइन्।

उद्योगमा इन्धन उत्पादनका लागि बालिने भुसबाट खरानी उडेर घर, आँगन, करेसाबारी, खाना पकाउने भान्सासम्म पुग्ने गरेको विश्वकर्माको भनाइ छ। ‘कपडा सुकायो खरानीले पुरिन्छ, भान्सामा पकाएको खानासमेत सफा हुन पाउँदैन,’ स्थानीय सुकमायाले भनिन्, ‘यसको नियन्त्रणका लागि उद्योगले कुनै पहल नगर्दा धेरै समस्या भएको छ।’

उद्योगबाट निस्कने खरानी धूलोले असर पुर्‍याएको भन्दै आफूहरुले उद्योग प्रशासनलाई पटक–पटक यसको व्यवस्थापनका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको मिलन टोल सुधार समितिका अध्यक्ष चिनीबहादुर सुनारले बताए। उद्योग प्रशासनसँग छलफल गर्दा अध्यधिक खरानी धूलो उड्ने समस्या समाधानका लागि पहल गर्ने मौखिक आश्वासन दिने गरेको भए पनि नियन्त्रणमा भने कुनै काम नभएको अध्यक्ष सुनारको भनाइ छ।

उद्योगबाट धूलोसँगै दुर्गन्धसमेत फैलिएको स्थानीयवासीले बताएका छन्। उनीहरुले उद्योग प्रशासनले यसको व्यवस्थापनका लागि पहल नगरे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। उद्योगले भने स्थानीयवासीले भनेजस्तो मापदण्डविपरीत धूलो निस्किने नगरेको बताएको छ।

उद्योगका जनसम्पर्क अधिकृत रामचन्द्र धितालले स्थानीयवासीले भनेअनुसार उद्योगबाट धूलो निस्किने नगरेको बताए। उद्योगले अहिले आधुनिक प्रविधिबाट ऊर्जा उत्पादन गर्ने गरेको तर सो प्रविधिको ४–५ महीनामा मर्मत गर्नुपर्ने र मर्मतको समयमा केही दिन भुसे बोइलर सञ्चालन गरिने गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्