Spread the love
  • 458
  •  
  •  
  •  
  •  
    458
    Shares

‘नेपाली नेताहरु, लिपुलेक र कालापानीबारे बोल्दैनाै ?

0

शिवजी तिवारी

नेपाल र भारतबीच खुला सीमा छ र यो जहिले विवाद बनिरहन्छ। भारतसँगको सीमा विवाद स्वघोषित राष्ट्रवादको आवरणमा नेताको राजनीति गर्ने माध्यम बन्छ। यही सीमा विवादले गर्दा ३ वर्षअघि एक नेपाली युवा गोविन्द गौतमले ज्यान गुमाउनुपर्‍यो। केही समय नेपाली लालपूर्जामा रहेको पचासौं बिघा जमिन पुन गुमाउनपर्ने स्थिति सिर्जना भयो। अहिले सिंगो भूभाग कालापानी गुमाउनुपर्ने स्थितिको सामना गर्दै छ नेपाल। कहिल्यै नसुल्झिने यो विवादमा अझै कति नेपालीले ज्यान गुमाउनुपर्ने हो र कति बिघा जमिन गुमाउनपर्ने हो, त्यो भन्न सकिन्नँ।

यो विवाद किन सुल्झदैन, यो विवादको कारक हामी हौं कि हाम्रो छिमेकी ? किन सीमा समस्याको वैज्ञानिक हल खोजिँदैन ? कहिले जंगे पिलर यथास्थितिमा नभएकाले विवाद उत्पन्न हुन्छ त कहिले ‘नोम्यान्स ल्यान्ड’को परिपालनमा स्पष्टता नभएर। सुन्दा निकै हास्यास्पद जस्तो लाग्छ, सीमानामा भएको पिल्लर नै सारिंदा, सुन्दा जति हल्का छ, यथार्थ त्यति नै दुखदायी छ, जब सीमा नाका नजिकै सुतेको नेपाली बिहानै सयौं थुंगा फूलका हामीबाट एउटा थुंगो उछिटिएर एक्लो भएको महसुस गर्न बाध्य छ।

भारत र नेपालतर्फ १० गज चौडाको क्षेत्रलाई दशगजा अर्थात् ‘नोम्यान्स ल्यान्ड’ भनिन्छ। तर, नोम्यान्स ल्यान्ड कायम गरिनुपर्छ भनेर नेपाली पक्ष किन आवाज उठाउन सक्दैन ? भारतीय पक्षले म ठूलदाइ हुँ भन्ने भावना राख्छ र आवाजको सुनुवाई हुँदैन भने पनि सीमा मिच्ने काम रोक्न त अन्तराष्ट्रिय समुदाय त छँदैछ, यस्तो अवस्थामा किन नेपाली पक्ष मुकदर्शक बन्दैछ ? प्रश्न निकै गम्भीर छ। यति बुझ्दाबुझ्दै पनि आवाज उठाउन अबेर गरिरहने हो भने सीमानामा विवाद भइरहन्छ। धार परिवर्तन गर्दा होस् वा खम्बा नदीले बगाएर लगेको खण्डमा विवाद हुनुको मुख्य कारण वैज्ञानिक समझदारी नहुनु नै हो। जति नै कारण खोजौं जति नै उपायहरु रोजौं, समस्याको समाधान वैज्ञानिक सीमांकन र त्यसको कडाइपूर्वक पालना गर्नु गराउनु नै हो।

अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार दश गजा क्षेत्र निर्जन हुन्छ, त्यहाँ कुनै गतिविधि गर्न पाइँदैन। कुनै भौतिक निर्माण गर्न पाइँदैन। तर, नेपाल र भारतको दशगजा क्षेत्रमा दुवैतर्फ त्यसको पालना भएको पाइँदैन, कतिले घर बनाएर बसेका छन्, कतिले दश गजा क्षेत्रमा नै भैंसीगोठ बनाएका छन्। मोरङको जोगमुनी भन्ने ठाउँमा त मन्दिर पनि बनाइएको छ। अझ स्पष्ट शब्दमा भन्ने हो भने भारततिरको दश गजामा एक भाइको घर बनेको छ भने नेपालको दश गजा क्षेत्रमा उसको सहोदर दाजुको घर बनेको छ। जबकी सीमा क्षेत्र सिद्धान्तअनुसार यो निर्जन हुनुपर्ने हो। यस्तो नहुनका कारणले बेला बेलामा सीमा अस्पष्ट हुनुका कारण स्थानीय व्यक्तिका बीचमा झडप हुने गरेको छ।

जब दाजुभाइबीच झगडा पर्छ, एउटा किसानले अर्को किसानको जमिन मिचेको जस्तो भान हुन्छ, सामान्य देख्दा तर यथार्थमा भारततर्फका किसान पुरै विस्तारवादी शैलीमा प्रस्तुत हुन्छ। उसको पछाडि उनीहरुका एसएसबीका जवान बन्दुक बोकेर आएका हुन्छन्। निर्धो नेपाली हो, ऊ एक्लो छ। उसको पछाडि प्रहरी पनि छैन, सशस्त्र प्रहरी बल पनि छैन न सेना नै छ। जमिन मिचिएर नेपाली किसान चिच्याउँछ, र भन्छ मेरो देशको सीमाना लुटपाट भयो। तर, नेपाली सरकार मुकदर्शक बन्छ। उता भारतीय सीमा सुरक्षा बलले धम्क्याउँछ र भन्छ – ‘चुपचाप बस्, नत्र गोली खान्छस्।’ अनि आफ्नै भूमिमा स्वाभिमानी नेपाली चुप लाग्न बाध्य छ।

प्रत्येक नेपाली र राज्य संयन्त्रलाई थाहा छ, यथेष्ट मात्रामा सीमा खम्बा गाडिनुपर्छ, र त्यसको रक्षाका लागि कूटनीतिक पहल चाल्नुपर्छ। यदि कसैले त्यस्ता खम्बा भत्काउँछ, नष्ट गर्छ भने त्यस्तालाई अधिकतम् सजाय हुनुपर्छ। सीमा खम्बा भनेको देशको सार्वभौमिकतासँग जोडिएको छ। सीमास्तम्भ दुवै देशको साझा सम्पत्ति हो, यसको रक्षा गर्नुपर्छ भनेर जनचेतना जगाउने काम गर्नुपर्छ। यसरी जागरण ल्याइयो भने सीमाको रक्षा उनीहरुले नै गर्छन्।

बाबुराम भट्टराईले सुस्ताको निरीक्षण गरेर आइसकेपछि धादिङको बेनीघाटमा पत्रकारलाई भनेका थिए, ‘सुस्तामा १४ हजार हेक्टर जमिन मिचिएको छ, यसलाई सौहार्दपूर्ण तरिकाले सुल्झाउने प्रयत्न गर्नेछु।’ तर उनी प्रधानमन्त्री बन्दा यो समस्या सम्झिएनन्। केपी ओली ठूलो राष्ट्रवादको नारा लगाउछन्, तर सत्तामा हुदा सीमा विवादवारे ‘चुँ’सम्म बोल्दैनन्। बोलेको परराष्ट्र मन्त्रालय पनि आधिकारिक तथ्यमा उभिँदैन, बजार हल्लाअनुसार भन्दै विज्ञप्ति निकाल्छ।

दुवैतर्फ एकीकृत सीमाको विकास गरिनुपर्छ। पारीपट्टि भारततिर झलमल विजुली बलेको हुन्छ राति, नेपालतर्फ छैन। पारी सडक र बजारको व्यवस्था हुन्छ, नेपालतर्फ सडक, खानेपानी, सिँचाइको व्यवस्था छैन। त्यसकारण दुवै देशले कुटनीतिक तवरले मिलेर दुवै क्षेत्रमा एकीकृत सीमा विकास गर्नुपर्छ। र, साना शहरको निर्माण गर्दै जानुपर्छ। तर व्यवहारत त्यस्तो भएको पाइँदैन।

सुस्ता क्षेत्रमा सीमा मिचियो भनेर त्यहाँका स्थानीय नेपाली लैला बेगम, गोपाल गुरुङ, आदम खाँ, मुन्ना खाँ, रोज अलि मियाजस्ता मान्छेहरु कराइराखेका छन्। यसरी कराउँदा पारिबाट भारतीय एसएसबीले बन्दुक तेस्र्याउँछ। तर पनि उनीहरु कराउन छोडेका छैनन्। सलाम छ ती नेपालिहरुलाई, जो सधैं सीमानामा ढाल बनेर उभिएका छन्। थोरै भए पनि नेपाली बहिरो बनेको राज्य संयन्त्रको निदभंग गर्न लागिपरेका छन्। तर, समस्याको निदान भनेको वैज्ञानिक सीमाङ्कन नै हो।

हामी नपाली सीमाका सम्बन्धमा मात्र होइन, राष्ट्रियताका लागि एकमुख, एकजुट हुन सकेका छैनौं। चाहे सीमा होस् वा व्यापार वाणिज्य सन्धीको कुरा होस्, चाहे जलविद्युत उत्पादनका कुरा हुन् वा सडक विकासको कुरा, नेपालीहरु एकमतले राष्ट्रिय नीति निर्माण गर्न नसक्नुको कारणले पछाडि परेका हौं। हाम्रा नेताहरुमा पनि सीमा सम्बन्धमा ज्ञान छ, पदमा बसेका बेला त्यो ज्ञान कार्यान्वयन गर्नुपर्ने हो। तर कार्यान्वयन गर्नेतर्फ ध्यान नजानु निकै शंकास्पद छ।

आफूलाई सर्वश्रेष्ठ खाटी सर्वहारावादी क्रान्तिकारी अन्तर्राष्ट्रियवादी भनेर दाबी गर्ने तत्कालिन एकीकृत नेकपा (माओवादी) र हालको नेकपा केही वर्ष अगाडि सीमा जागरण अभियान चलाउँदा अध्यक्ष प्रचण्ड कालापानी जाने, बाबुराम भट्टराई सुस्ता जाने, नारायणकाजी श्रेष्ठ लक्षमणपुर बाँध जाने, रामबहादुर थापा रसियावला खुर्दलोटन बाँध जाने भन्ने थियो। मोहन बैद्य इलाम गएका थिए। त्यस बेला प्रचण्ड कालापानी पुग्न सकेनन्। उनी भीमदत्त नगरपालिका पुगेर कालापानी हाम्रो हो, हामी कुरा गर्छौं, हामी समस्या समाधान गर्छौं त भन। त्यसपछि प्रचण्ड प्रधानमन्त्री बने। तर, उनले पनि त्यो प्रतिवद्धता कार्यान्वयन गर्न सकेनन्।

अहिले यत्रो सीमाना विवाद छ। तर बहालवाला प्रधानमन्त्रीले सामान्य पहल सम्म गरेको पाइँदैन। भारतीय विस्तारवादीहरूले नेपालको कालापानीमाथि अधिकार जमाएर सैनिक अखडा जमाएको दशकौं भइसक्यो, नक्सा मात्रै हो अहिले सार्वजनिक गरेको। नेपालका सीमावर्ती क्षेत्रहरूमा बाँधहरू बनाएर नेपाली भूभाग डुबानमा पार्नु, दश गजामा सडकहरू निर्माण गर्नु, बस्ती बसाउनु आदि असंख्य कुकृत्यहरू गरिरहेछ। नेपालका ठूला पार्टी नेपाली कांग्रेस, मधेसवादी दल, तथा नेकपाको नेतृत्व पंक्तिले सीमाना विवादबारे राम्रो ज्ञान छ। तर राजनीतिक दलका नेताहरु इमान्दार हुन सकेका छैनन्।

Spread the love
  • 458
  •  
  •  
  •  
  •  
    458
    Shares
You might also like
Comments
Loading...