उपनिर्वाचनका लागि मनोनयन दर्ता आज

  • 153
    Shares
0

काठमाडौं, २१ कात्तिक। १४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज मनोनयन दर्ता हुँदैछ। स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा मनोनयन दर्ता गराउन सक्नेछन्।

स्थानीय तहको हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ।

मनोनयन दर्तापछि बिहीबारै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची प्रकाशित हुनेछ। भोलिपल्ट शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ। २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी सोही दिन दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।

कुनै उम्मेदवारहरूले नाम फिर्ता लिन चाहे २४ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसपछि सोही दिन ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशत गर्ने कार्यक्रम छ। २५ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन्। उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १०१ छ। तीमध्ये १६ नयाँ दल छन्।

उपनिर्वाचनका लागि आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ। यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ।

Comments
Loading...
You might also like