वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिन कठिनाई

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ कात्तिक। वैदेशिक रोजगारीमा गएका कामदारको पुनः श्रम स्वीकृतिका लागि कठिनाई उत्पन्न भएको छ। कामदारहरुको श्रम स्वीकृति सम्बन्धी कागजातहरुमा उल्लेखित विवरणहरु फरक पर्न गएकोले पुनः श्रम स्वीकृतिका लागि कानूनी तथा व्यावहारिक कठिनाई उत्पन्न भएको हो।

दोहा कतारस्थित नेपाली राजदूतावसले पुन श्रम स्वीकृति लिने प्रकृयामा कठिनाई उत्पन्न भएकोले विदा बस्नु अघि आफ्नो कागजातहरु सच्याउन आग्रह गरेको छ। आफू कार्यरत कम्पनीमा पुनः काममा फर्किने गरि विदामा नेपाल फर्कनु अघि कागजातहरु सहि ढंगले मिलाउन आग्रह गरिएको छ।

विशेषगरि प्राविधिक दक्षता तथा शीप प्रमाणीकरण गर्ने कागजातको अभावमा पुनः श्रम स्वीकृति दिन कठिनाइ भएको दूतावासले जनाएको छ। कतिपय कामदारहरु सम्बन्धित कम्पनीहरुमा अन्य पेशामा काम गर्ने तर भिसामा ड्राइभर, अपरेटर जस्ता प्राविक दक्षता भएका पेशाहरु उल्लेख गरिएकोले समस्याहरु सिर्जना भइरहेको छ।

सम्बन्धित कम्पनिमा एक पेशामा काम गर्ने तर रोजगार करार संझौतापत्र वा कतारी आईडीमा ड्राइभर, अपरेटर जस्ता प्राविक फरक पेशा उल्लेख गरिएकोले आवश्यक प्राविधिक दक्षता तथा शीप प्रमाणीकरण गर्ने कागजातको अभावमा पुनः श्रम स्वीकृति दिन व्यावहारीक तथा कानूनी कठिनाई उत्पन्न भएको दूवासले जनाएको छ।

दूतावासले विदामा नेपाल फर्कनु अघि भिसा र आईडिमा उल्लेख भएका पेशाहरुसँग मिल्ने प्रमाणपत्र (ड्राईभिङ्ग लाईसेन्स आदी) अनिवार्य रुपमा साथमा बोक्न अनुरोध गरेको छ। साथै पेशा र रोजगार करार संझौतापत्र वा कतारी आईडीमा उल्लेख भएको पेशा फरक परेको भएमा विदा बस्नु अघि आफू कार्यरत कम्पनीलाई अनुरोध गरी आफ्नो पेशा बमोजिमको कागजातको व्यवस्था मिलाउन आग्रह गरेको छ।