भरतपुर महानगरमा साइकल लेन बनाउने तयारी

bharatpur pic
लाेकपाटी न्यूज
0 Shares

चितवन, २१ मंसिर। भौतिक पूर्वाधार निर्माण गर्न उद्योग वाणिज्य संघ चितवन, साइकल व्यवसायी संघ चितवन–नवलपुर, चितवन साइकल राईर्डस क्लब चितवनले साइकल लेनयुक्त गर्न महानगरको ध्यानाकर्षण गराएका छन्। शुक्रबार उद्योग वाणिज्य संघ चितवनबाट साइकल र्‍यालीसहित आएका व्यवसायीले साइकल लेन बनाउन माग गरेका हुन्।

मेयर रेनु दाहाल, उपमेयर पार्वती शाहलाई ज्ञापनपत्र बुझाए। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले प्रदुषणरहित सवारीको साधन साइकल तथा इलेक्ट्रिक साइकलको प्रयोग बढाउन साइकल लेन बनाउनुपर्ने बताए। पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन साइकलमैत्री वातावरण बनाउनुपर्ने बताए। ‘विगतमा गाउँघरका बाटोमा सहजै साइकल चलाउन सक्ने अवस्था थियो, अहिले आधुनिक सवारीको चापले सडकको ट्राफिक जाम बढेको छ, गन्तव्यमा पुग्नै ढिलो हुन् थालेको छ, दुर्घटना बढेका छन्, साइकल लेन पूर्वाधार बिना साइकल चलाउन डर छ।’ उनले बढी साइकल चलाउने वातावरण सृजना गर्न महानगरको ध्यानाकर्षण गराए।

साइकल व्यवसायी संघ चितवन–नवलपुरका निवर्तमान अध्यक्ष साइकल अभियन्ता धर्मराज सापकोटाले बजार क्षेत्रमा साइकल स्ट्याण्ड निर्माण गर्नुपर्ने, पर्यटक घुमाउन साइकल उपोगको नीति अवलम्बन गर्नुपर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण कार्यक्रम हुनुपर्ने माग गरे। अध्यक्ष श्याम खरेलले हप्तामा एक दिन सवारीरहित घोषण गरी अत्यावश्यक सवारी बाहेक इन्धन खपतका सवारीलाई निरुत्साहित गर्दै साइकल संस्कृतिको विकास गर्न गुरुयोजना बनाउनुपर्ने बताए।

क्लबका अध्यक्ष नविन खरेलले विद्यार्थीलाई साइकल प्रयोगमा प्रोत्साहन गर्नुपर्ने, खेलकुद र मनोरञ्जनका लागि पहाडी क्षेत्रमा साइकल ट्याक बनाउनुपर्ने, साइकल प्रयोगबारे जनचेतनामूलक सूचना सम्प्रेशषण गर्नुपर्ने लगायतका १० बुँदे मागहरु बुझाइएको जानकारी दिए। मेयर दाहालले महानगरिय नमुना सडकका रुपमा साइकल लेनसहितका सडक निर्माण प्रक्रिया अघि बढेको बताइन्।

उनका अनुसार चौविसकोठी, त्रिचोक, धर्मचोक, विशालचोक, जगन्नाथ चोक, हाकिमचोक–हस्पिटलचोक, हाकिमचोक, जयनेपालचोक, मखनचोक, टाँडी चोक, शहिदचोक, बेलचोक, धर्मचोक सडक साइकल लेनसहित विस्तार हुनेछ। यस्तै निर्माणाधीन गोन्द्राङ, पुलचोकको ६ लेनसहित सडक, ४ लेनको बाइपास सडकमा सर्भिस लेन हुने जानकारी दिइन्।

उनका अनुसार साइकल लेनसहितको सडक बनाउन महानगरले साढे २ करोडको बजेट विनियोजन गरेको छ। केन्द्र, प्रदेश सरकारसँग थप बजेट माग गरेर साइकलमैत्री सडक बनाउन महानगर प्रतिवद्ध रहेको बताइन्। उनले साइकल लेनको माग गर्दै निरन्तर खबरदारी गर्न आग्रह गरिन्। मेयर दाहालले यही वर्ष ३ सय छात्रालाई निःशुल्क साइकल वितरण गर्ने योजना रहेको पनि बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्