प्रचण्डले बोलाए सचिवालय बैठक, के-के छन् एजेण्डा ?

Prachanda_1
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ९ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालयको बैठक बोलाएका छन्। पार्टी एकताको १५ महिनापछि पहिलोपटक अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज नेकपा सचिवालयको बैठक बस्न लागेको हो।

यसअघिका बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका थिए। प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको लागि सिंगापुरमा छन्। उनी सिङ्गापुर जानुअघि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसी अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसी बाँकी विषय टुङ्ग्याउने तय गरेको थियो।

पार्टीको साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सचिवालय बैठक सोमबार बिहान ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्दै छ। १ बजे मन्त्रीपरिषद बैठक बस्ने भएकाले पार्टी सचिवालय बैठक ११ बजेका लागि सारिएकाे प्रचण्ड सचिवालयले जनाएकाे छ।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ। सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनले भने, ‘बैठकमा यी विषयमा सहमति जुटेमा (सोमबार) नै यी विषय टुङ्गो लाग्नेछन्।’

बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागेको कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा छलफल गरिने एजेन्डा राखिएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो अझै लागेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्