बेलायतको संसद निलम्बन गर्ने तयारी

Alizabeth waren
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ भदौ । बेलायतको संसद निलम्बन गर्ने सरकारको सिफारिस स्वीकृत भएको छ। बेलायतकी महारानी एलिजाबेथले संसद निलम्बन गर्ने सरकारको सिफारिस स्वीकृत गरेकी हुन्।

प्रधानमन्त्री बोरिस जोन्सनले आगामी १४ अक्टुबरसम्मका लागि संसद निलम्बन गर्ने निर्णय गर्दै त्यसको स्वीकृतिका लागि महारानीसमक्ष पेश गरेका थिए। महारानीले स्वीकृति दिएकाले अब सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ। त्यसपछि ३१ अक्टुबरमा बिना कुनै सम्झौता बेलायत युरोपेली युनियन (ईयू)बाट बाहिरिने छ। संसद निलम्बन हुने भएकाले त्यसबारे संसदमा कुनै किसिमको बहस हुने छैन। बिना सम्झौता ईयूबाट बेलायत बाहिरिने प्रक्रिया रोक्नेलगायतका विधेयकहरु अब निष्कृय हुनेछन्।

बिनाकुनै सम्झौता ईयूबाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रिया रोक्ने कानून पारित हुन नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरुले आलोचना गरेका छन्।सत्ताधारी टोरी पार्टीले समेत सरकारको यो कदमलाई अपमानजनक भनेको छ। संसद निलम्बनको निर्णयले जोनसन नेतृत्वको सरकार खस्किने चेतावनी दिएका छन्।

तल्लो सदन हाउस अफ कमन्सका सभामुखले समेत सांसदहरुलाई ब्रेक्जिटबारे बहस गर्न नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। ब्रेक्जिटबारे पर्याप्त छलफल र बहस गर्ने समयसमेत अभाव हुने आलोचकहरुको भनाइ छ। तर जोनसनले त्यसलाई नकार्दै भनेका छन् ‘संसद भंग भएपछि १४ अक्टुबरमा महारानीको सम्बोधन हुने छ, जसमा एक रोमान्चक एजेण्डाको रुपरेखा हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्