अर्को हप्ता विशाल क्षुद्रग्रह पृथ्वीको नजिक आउने नासाकाे दाबी

लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । ‘२००६ क्यूक्यू २३’ नाम दिइएको क्षुद्रग्रह अगष्ट १० मा पृथ्वीको अत्यन्त नजिक आउदैंछ । नासाका अनुसार क्षुद्रग्रहको व्यास १८७० फिट रहेकाे छ ।

यो सामान्यताभन्दा ठूलो आकारको क्षुद्रग्रहमा पर्ने वैज्ञानिकले बताएका छन् । तर यसले पृथ्वीलाई कुनै खतरा नपुर्‍याउने वैज्ञानिकहरुले बताएका छन् । नासाको ग्रह प्रतिरक्षा समन्वय कार्यालयमा कार्यरत लिण्डले जोनसन र केली फास्टका अनुसार यो क्षुद्रग्रहको परिपथ पृथ्वीतर्फ नभएकाले डराउनुपर्ने अवस्था छैन ।

जोनसन र फास्ट नासाको ‘पृथ्वीका नजिकका अन्तरिक्ष वस्तु’ पहिचान गर्ने समूहका सदस्य हुन् । यसमा मुख्यत हाम्रो सूर्य परिक्रमा गर्ने क्षुद्रग्रह र पुच्छ्रे ताराको अवलोकन गरिन्छ ।

तिनले ती वस्तुलाई अवलोकन गरेर तिनले पृथ्वीलाई ठक्कर दिने सम्भावनाको मापन गर्छन् र आवश्यक परेमा तिनको परिपथ बदल्न सुझाव दिन्छन् ।

जोनसनका अनुसार हाल पृथ्वीको नजिक भएर गुज्रिन लागेको क्षुद्रग्रह २००६ क्यूक्यू२३ बाट कुनै खतरा छैन । उक्त क्षुद्रग्रह मध्यम आकारको भएता पनि त्यो पृथ्वीको ५० लाख माइलमाथिबाटै टाढिन्छ ।

उनका अनुसार यो आकारको क्षुद्रग्रह प्रत्यक वर्ष झण्डै आधा दर्जन वटा पृथ्वीको नजिक भएर गुज्रिन्छन् । सूर्यलाई परिक्रमा गर्ने सबैभन्दा ठूलो क्षुद्रग्रहको लम्बाई २१ माइल छ । जवकि त्यो आकारको क्षुद्रग्रह एकदमै थोरै छन् ।

जोनसन र फास्टआबद्ध नासाको ‘नियर अर्थ अब्जेक्ट अव्जरभेसन्स प्रोग्राम’ले एक किमीभन्दा बढी व्यास भएको झण्डै ९०० वटा क्षुद्रग्रह पहिचान गरिसकेको छ ।

क्षुद्रग्रह जति सानो भयो त्यसको संख्या त्यति धेरै हुदैं जान्छ तर साना क्षुद्रग्रह हाम्रो वायुमण्डलमा प्रवेश गरेपछि जलेर नष्ट हुन्छन् । कुनै कुनै अवस्थामा मात्र जलेर बाँकी भाग पृथ्वीको सतहसम्म आइपुग्छ ।

सन् २०१३ मा ५५ फिट व्यासको उल्कापिण्ड पृथ्वीको सतहको केहीमाथि विस्फोट हुदाँ रुसमा हजार मानिस घाइते भएका थिए ।

पृथ्वीको नजिक भएर जाने २००६ क्यूक्यू२३ जत्रो आकारको क्षुद्रग्रह यदी पृथ्वीमै आउने हो भने त्यसले एउटा सानो स्तरको देशमा क्षति पु¥याउन सक्छ ।

जोनसनका अनुसार त्यस्तो आकारको क्षुद्रग्रह पृथ्वीको सतहमा थोरै मात्र आएका छन् । त्यस्तो घटना दुई तीन सय वर्षमा एक पटक जसो हुने देखिको छ । र नासाले यस्ता हरेक जसो क्षुद्र ग्रहलाई पहिचान गरेर नष्ट गर्ने प्रविधि विकासतर्फ अघि बढी रहेको छ ।

जस्तो नासाले २००६ क्यूक्यू२३ क्षुद्रग्रहको सन् १९०१ देखि सन् २२०० सम्मको परिपथको तथ्याङ्क राखिसकेको छ ।

यदी कुनै ठूलो क्षुद्रग्रह पृथ्वीतर्फ आएमा नासाले अन्तरिक्ष अभियान संचालन गरेर त्यसलाई फरक बाटो मोड्ने योजना छ ।

फास्टले हालसम्म पहिचान भएका मध्य कुनै पनि क्षुद्रग्रह पृथ्वीतर्फ हानिएको नभए पनि अहिलेसम्म पहिचान नभएको कुनै क्षुद्रग्रह पृथ्वीतर्फ आउन सक्नेसम्भावनालाई भने नकार्न नसकिने बताइन् । ‘हालसम्म हाम्रो निगरानीमा नआएको क्षुद्रग्रहको हामीलाई चिन्ता छ,’ फास्टले भनिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्