लाेकसेवा विज्ञापन विरुद्ध आन्दाेलनकाे घाेषणा

Loksewa
लाेकपाटी न्यूज

काठमाडौं, १८ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि जारी गरेको विज्ञापनको विरुद्धमा आन्दाेलनकाे घाेषणा गरिएकाे छ । आदिवासी जनजाति, मधेशी तथा पिछडिएका समुदायले आयाेगले स्थानीय तहका लागि जारी गरेकाे विज्ञापनका विश्रद्ध चरणवद्ध आन्दाेलनकाे घाेषणा गरेकाे हाे ।

यसअघि पनि आदिवासी जनजाति, मधेशी तथा पिछडिएका समुदायले लाेकसेवाकाे विज्ञापनका विरुद्ध आन्दोलन गर्दै आएको थियाे । आरक्षण बचाउ आन्दोलन नाम दिएर भइरहेको चरणबद्ध आन्दोलन अन्तर्गत फेरि साे समूदायले ३२ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेकाे हाे ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित भएको लोक सेवा आयोगको असमावेशी विज्ञापनको विरुद्ध आन्दोलन भइरहेको बताइएको छ । यो विज्ञापनलाई स्थगित नगरेसम्म आन्दोलन जारी रहने बताउँदै राज्य सरकार, लोकसेवा आयोग र अदालतको समेत विभेदकारी यस निर्णय र व्यवहारको विरुद्ध तथा समानुपातिक समावेशी सिद्धान्त र राज्यका अंगहरूमा प्रतिनिधित्व सुनिश्चितताका लागि आन्दोलनको थप कार्यक्रमको घोषणा गर्नुपर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

पत्रकारसँग भेटघाट गर्नुको साथै, अन्तरक्रिया कार्यक्रम, मुखमा कालोपाटी बाँध्ने, उल्टो हिँड्ने जुलुस, साँस्कृतिक प्रदर्शन, सिहदरवार, मुख्यमन्त्री कार्यालय तथा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मुख्यमन्त्रीको निवास घेराउ, लाठी जुलुससहित मार्च पास लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघको कार्यवाहक अध्यक्ष नवीन रोका, दलित गैसस महासंघका अध्यक्ष भक्त विश्वकर्मा, तराई मधेश राष्ट्रिय परिषद्को अध्यक्ष सरोज राय, मुस्लिमको तर्फबाट सभासद् कौसर शाह, महिलाको तर्फबाट चिनीमाया माझी, राष्ट्रिय अपाङ महासंघ, नेपालको उपाध्यक्ष रमेश लामा, पिछडिएको तर्फबाट ललित बुढागरले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्