मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य

honey-6
लाेकपाटी न्यूज
0 Shares

बागलुङ, १८ साउन । बागलुङको बडिगाड गाउँपालिकाले पाँचौं गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ ।

गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि चालू आर्थिक वर्षदेखि मह शिकार (हनि हन्टिङ) मा कडाइ गरेको गाउँपालिकाले जनाएको छ ।

सामुदायिक र सार्वजनिक स्थलमा हुने भीर महबाट निश्चित व्यक्तिले फाइदा लिने र लापरवाही गरेर मह काड्दा भीर मौरीसमेत लोप हुने अवस्था आएका कारण यसलाई संरक्षणका लागिसमेत सहयोग पुग्ने हुनाले अनुमतिको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले जानकारी दिए ।

गाउँपालिकाकाे उक्त नयाँ व्यवस्थाले वडा र गाउँपालिकाको राजश्वमा समेत वृद्धि भएर जाने बताइएको छ । गाउँपालिकाले मह शिकारका लागि निश्चित कार्यविधि निर्माण गरेर अनुमति दिने गाउँपालिकाका प्रमूख प्रसाशकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । गाउँपालिकाका रणसिंह, ग्वालीचौर, शिसाखानी, दर्लिङ, भिमगिठेका भीर मौरीका लागि उपयुक्त स्थल मानिन्छन् ।

परम्परागत विधिबाट मह निकाल्दा मह शिकारीको ज्यानै जाने सम्भावनासमेत रहेको छ । मुख्य व्यक्तिले सुरक्षा वेल्टसमेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गरिने हुँदा दुर्घटनाको उच्च जोखिम रहेको छ । गाउँपालिका भीर महको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले यहाँको महलाई व्यवस्थित तरिकाले निकाल्ने र प्रशोधन गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष पाइजाले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्