काठमाडौं, १९ साउन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार गरेको आरोपमा उपकुलपति रौनियारविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो।
होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक १ करोड २८ लाख रुपैयाँ घुस लिएको पुस्टि भएपछि भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जानाएको छ। रौनियारले होस्टल र फार्मेसी भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्र्याक्टर गिना कन्स्ट्र्क्सन कम्पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्न मितिमा रनिङ विलको भुक्तानी दिँदा पटक पटक कमिसनवापत घुस लिएको अडियोसहित अख्तियारमा उजुरी परेको थियो।
त्यस्तै उक्त भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि ठेकदार कम्पनीका झालाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको उजुरी सूचना पाएपछि गएको अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियारलाई घुससहित पक्राउ गरेको थियो।
अख्तियारका अनुसार उपकुलपति रौनियारविरुद्ध १ करोड २८ लाख विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ।