पत्रकार पुडासैनीकाे साथमा भेटियाे डिप्रेशनकाे औषधी

pudasaini
लाेकपाटी न्यूज

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ ।

प्रहरी स्राेतका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोही आधारमा अनुसन्धान भइरहेको प्रहरी स्राेतले जनाएकाे छ ।

स्राेतका अनुसार निज पुडासैनीको साथबाट डिप्रेशनको औषधीसमेत फेला परेको छ । विगत केही समययता उनले डिप्रेशनकाे औषधीसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेरेका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृतकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको जनाइएको छ ।

पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेका थिए । सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।

भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौँ लगेको छिमेकीको भनाइ छ ।आज अन्त्येष्टिसँगै कानूनी परामर्श गरेर अघि बढ्ने मृतकका दाजुसमेत पर्ने पुडासैनीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्