सपना पूरा नभए गन्तव्य बदल्नुस्, सिद्धान्त होइन (१०० महावाणि)

hakins and albert
लाेकपाटी न्यूज
5 Shares

काठमाडौं। त्यस्ता केही महावाणि हुन्छन्, जसले तपाई हाम्रो जीवन बदलिदिन्छ। विश्वप्रसिद्ध व्यक्तिहरुका भनाइहरु जीवन भोगाइसँग गाँसिएका हुन्छन्। महावाणिहरु सिद्धान्त मात्र होइनन्, जीवन भोगाइका क्रममा पैदा भएका व्यवहारिक संश्लेषण हुन्। हामीले १०० महावाणि प्रस्तुत गरेका छौं। आउनुस्, हाम्रो जीवनका लागि उर्जा र प्रेरणा दिने १०० महावाणि पढौं र जीवनका लागि प्रेरणा लिउँ।

एक, रिसको उल्टो सरी पनि हुन्छ। कहिलेकाँही उल्टो बोल्दा नि फाइदा हुन्छ। २. मेरो एउटा पनि शत्रु छैन, शत्रु देख्यो कि मैले सिध्याइहाल्छु उसलाई साथी बनाएर। ३. शहरमा घरहरू नजिक नजिक हुन्छन्। तर, मनहरू टाढा टाढा हुन्छन्, गाउँमा घरहरू टाढा–टाढा हुन्छन्। तर, मनहरू नजिक नजिक हुन्छन्। ४. शहरमा घरहरू पक्का हुन्छन्। तर, सम्बन्ध कच्चा हुन्छन्, गाउँमा घरहरू कच्चा हुन्छन्। तर, सम्बन्धहरू पक्का हुन्छन्।

पाँच, मानिसहरू तब मात्र तिम्रो हात समाउँछन् जब उनीहरूलाई थाहा हुन्छ कि तिमी एक्लै पनि अगाडि बढ्न सक्छौं। ६. दुनियामा एउटा पनि समस्या नभएको मान्छे को होला ? एक जना रैछ। तर, ऊ आर्यघाटमा जल्दै थियो। ७. क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई एउटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यही सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ। यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि एउटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस् कि तपाईंको दिमागबाट पनि आगो बर्सियोस्।

आठ, कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य। तर, सही समयमा सहि निर्णय लिँदा उनीहरु असाधारण बन्छन्, यो एउटा कला हो। ९. मानिस भएर कहिल्यै हिम्मत हार्नु हुँदैन, किनकी पहाडबाट निस्केको नदीले कहिल्यै कसैसँग सोधेको छैन कि समुन्द्रमा कहाँ पर्छु ? १०. नदीमा हामफाल्दैमा कसैको मृत्यु हुँदैन। मृत्यु त तब हुन्छ, जब पौडिन आउँदैन, परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या त तब बन्छ, जब हामीलाई परिस्थितिसँग जुध्न आउँदैन।

एघार, परिस्थिति आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउनतिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडीको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ। १२. यदि सपना पूरा भइरहेको छैन भने बाटो बदल्नुस्, सिद्धान्त होइन। किनकी रुखले हमेशा पात बदल्ने गर्छ, जरा होइन। १३. जीवनमा जति नै दुख परेपनि कहिल्यै नआत्तिनु किनकि बिहान हुनका लागि उषाका किरणसँगै शितका थोपा झर्नुपर्छ अनि खुशी हुनका लागि दुई नयनबीच ऑशुका थोपा बग्नुपर्छ।

चौध, लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ। तर, आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ। १५. तिमी कसैको कामको त्यो बेला आलोचना गर, जब तिमी ऊभन्दा अब्बलसँग काम गर्न सक्छौं। आलोचना भनेको आगो जस्तो हुनुभएन, जसले कागजलाई नै खरानी बनाओस्, बरु कैंचीजस्तो होस्, ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस्।

सोह्र, हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु। यही नै तिम्रो विजय हो। यसलाई तिमीबाट खोस्न सकिँदैन न परीद्वारा न प्रेतद्वारा। १७. देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिँदैनन्। १८. जो भुइमा सुत्दछ, ऊ खाटबाट खस्न सक्दैन। १९. मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस्, हृदय ढुङ्गा भइसकेको छैन। २०. कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्, नयाँ हुँदा खासै टेस पर्दैन। तर, जति बासी भयो त्यति नै मिठो।

एक्काइस, मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो। २२. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन्। २३. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ। २४. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो। २५. हामीलाई लामखुट्टेले होइन, हाम्रै अल्छ्याइले टोक्छ। २६. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ।

सत्ताइस, सबैभन्दा सस्तो औषधि हाँस्नु हो, किनभने यसको कमी भयो भने सबैभन्दा महंगो औषधि खान बाध्य भइन्छ। २८. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ। २९. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन्। ३०. एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जब केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ।

एकतीस, जुन रोगको उपचारै छैन, त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निक्लिन्छन्, अनि जुन समस्याको समाधानै छैन, त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन्। ३२. चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडा पनि। मान्छे पनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा। ३३. हजार खोक्रा शब्दहरूभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ। ३४. जिब्रो एउटा त्यस्तो छुरी हो, जसले खुन ननिकाली काट्न सक्छ। ३५. हजारौं मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराई जलाउन सकिन्छ, यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ।

छत्तीस, हाम्रो मस्तिष्क नै सबैथोक हो। हामी जे सोच्दछौ, त्यही बन्दछौं। ३७. हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे उस्ता उस्तै हुन्, जसलाई फुटाउनै पर्दैन, आफै फुट्छ। ३८. हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस्। तर, यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ। ३९. खिचडी एउटा यस्तो डीस हो, जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ। ४०. झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस्, तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।

एकचालीस, सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ। ४२. तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुु, कमजोर मान्छेहरू त्यस्तै गर्छन्। शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन्। ४३. जसले समस्याको उपयोग गर्न सक्छ, उसले महानतालाई छुन सक्छ। ४४. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन। तर, हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौं। ४५. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराका लागि जिन्दगी दिन्छन्।

छयालीस, असफलताका दुइ कारण छन्– एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु। (४७) कामलाई भोलिको बाहानामा पन्छ्याउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो। ४८. सफलता त्यो जमिनमुनिको पानी हो, जुन सय ठाँउमा एक मिटर खन्नाले मिल्दैन, बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ। ४९. यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन्। ५०. तिम्रो डर गुरूत्वबल जस्तै हो, जसले माथि चढ्न बाधा पुर्याउँछ, तल खस्न सहयोग।

एकाउन्न, जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन्। ५२. प्रायः मानिसहरू यो भ्रममा बाँचिरहेका हुन्छन् कि सफलता सङ्घर्षमा होइन, भाग्यमा अडेको हुन्छ। ५३. उज्यालोमा त सबैले साथ दिन खोज्छन्। तर, असल साथी त्यो हो, जसले अध्यारोमा पनि साथ दिन्छ। ५४. प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन्। तर घर, अगाडिको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन्। ५५. आफूभित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ।

छपन्न, असम्भव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो। ५७. धनी हुनलाई सम्पत्तिको थुप्रो होइन, सन्तुष्ट मन चाहिन्छ। जब जिन्दगीमा तृप्ति मिल्छ, तब साग–सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल। ५८. गुलाबको बोटमा पनि काँडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन। ५९. देवकोटा पनि चुरोट पिउँथे, हेमिंग्वे रक्सी खान्थे। नकरात्मकता हामी सबैभित्र हुन्छ। तर, हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो।

साठी, हामीले मन्दिरमा पैसा चढाउँदैमा कहिल्यै धर्म हुँदैन, धर्म त त्यो सेवा हो, जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउँदामा मिल्छ। (६१) विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल। आफूलाई बदल्नका लागि आफ्नो सोच बदल। (६२) लक्ष्य जति नै उच्च भए पनि सुरूवात आफैबाट गर। (६३) जसले आफ्नो आत्मालाई ढाँट्छ, उसले संसारलाई ढाट्न रत्तिभर पनि डर मान्दैन।

चौसठ्ठी, निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नु हुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ। ६५. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ। ६६. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

सतसठ्ठी, सबैलाई प्रेम गर, थोरैलाई विश्वास गर र कसैलाई पनि हानी नगर। ६८. यहाँ न असल छ न खराब नै। असल–खराब त हाम्रो सोचाइको उपज हो। ६९. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ। ७०. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौं, यो थाहा छैन। ७१. सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ। ७२. यदि हामीले विगत र वर्तमान बीचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ।

त्रिहत्तर, हावाको चाप जति बढी हुन्छ, उति नै चंगा माथि उड्न सक्छ। ७४. हामी अव्यक्त शब्दका मालिक हौंं। तर ती शब्दहरूको नोकर हौं, जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए। ७५. राजनीति कुनै खेल होइन, यो त वौद्धिक र आत्मिक कमाइ हो। ७६. इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ। ७७. एक्लो रूख यदि पूर्ण रूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ। ७८. साहस भनेको नडराउनु मात्र होइन, डरमाथि विजय पाउनु पनि हो। बहादुर त्यो होइन, जो डराउँदैन, बहादुर त्यो हो, जो डरको बाबजुद अघि बढ्दछ।

उनान्असी, एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन्। ८०. जबसम्म काम समाप्त हुँदैन, तबसम्म त्यो असम्भव लाग्दछ। ८१. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो, जसले विश्व बदल्न सक्दछ। ८२. मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो। ८३. सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो, म त्यसैको खोजीमा छु। ८४. विवेक मात्र दुर्लभ छ, अविवेक सर्वसुलभ छ।

पचासी, मानव मनको सबैभन्दा ठूलो समस्या हो बोली र व्यवहारमा फरक। ८६. हृदयमा प्रेम जगाई राख। प्रेम विनाको जीवन सूर्यको अनुपस्थितिमा लोलाएको फूलको वृक्षजस्तै हुन्छ। ८७. साँचो मित्रले सधैं तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ। ८८. अनुभव भनेको हाम्रा गल्तीहरूलाई दिइएको साधारण नाम हो। ८९. हामी त्यही बन्छौं, जुन कुरा लगातार गरिरहन्छौं। त्यसैले कामले होइन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ।

नब्बे, आशा जागा अवस्थाको सपना हो। ९१. शिक्षाको जरा तीतो हुन्छ। तर, यसको फल सधैं मीठो हुन्छ। ९२. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन्। ९३. म त्यसलाई बहादुर मान्छु, जसले आफैलाई जित्न सक्छ। तर, त्यसलाई होइन, जसले शत्रुलाई जित्दछ। ९४. जीवनभर हामी तीतो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौं, चिनी त कपको पिँधमा जस्ताको तस्तै रहेछ। हाम्रो जीवनलाई सबैभन्दा मीठो बनाउनु पनि मष्तिस्कको प्रतीक हो।

पञ्चानब्बे, हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनुपर्छ, जुन आफैमा मूल्यवान त हुदैन। तर अरूसँग जोडिँदा त्यसको मूल्य बढाइदिन्छ। ९६. जब मान्छेले जन्म लिन्छ, उसित श्वास त हुन्छ। तर, कुनै नाम हुँदैन। जब मान्छेको मृत्यु हुन्छ, तब उसित नाम त हुन्छ। तर, श्वास हुँदै। यही श्वास र नाम बीचको यात्रालाई जीवन भनिन्छ।

सन्तानब्बे, मनमा रिस पालिरहनु भनेको अर्कामाथि फ्याक्ने उद्देश्यले आगोको कोइला हातमा लिनुजस्तो हो, आखिर जल्ने त तिमी आफै हो। ९८. यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस् तपाई सबैभन्दा धनी व्यक्ति हो। ९९. शिखर चढ्ने आँट गर्छौं भने कठिनाई भनेको केही छैन। १००. जीवनको आदर्श केही उच्च हुँदैन भने पढ्नु व्यर्थ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्