अन्ततः ग्राण्डी अस्पतालले माफी माग्यो : लापरवाही गर्ने डाक्टर र नर्स निष्कासन

grandi
लाेकपाटी न्यूज

काठमाडौं, २४ साउन । ग्राण्डी अस्पतालको विषयलाई लिएर अस्पतालका निर्देशक डा.चक्रराज पाण्डे, सञ्चालक इञ्जिनियर दीपक कुँवर लगायतले पीडित दोर्जे लामा र निशासँग माफी मागेका छन्। उनीहरुले माफी मागेपछि दुई पक्षबीचको वार्ता पनि टुंगिएको छ। नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ।

गत असार २० गते ग्रान्डी अस्पतालमा जन्मेको नवजात शिशुको श्रावण ६ गते अस्पतालकै लापरवाहीका कारण मृत्यु भएको स्वीकार्दै उनीहरुले माफी मागेका हुन्।बिहीबार अस्पतालमा पीडित पक्ष र अस्पताल व्यवस्थापन समितिका तर्फबाटा छुट्टाछुट्टै वार्ता टोली बनाएर वार्ता गरेको थियो।

वार्तामा महाराजगंञ्ज प्रहरी बिटका प्रमूखदेखि राजनैतिक दलका नेता, अस्पताल सञ्चालक, पीडित लामासमेतको टोली बसेको थियो। वार्तामा लापरबाही गर्ने डाक्टर नर्सलाई हटाउनेसम्मको सहमति भएपछि पीडित पक्षले बिनासर्त मृतक शिशु बुझेको लामाले जानकारी गराए।

‘अस्पतालमा वार्ता भयो, हामीले के गर्नुपर्छ गर्छौं भन्दै अस्पतालका सञ्चालक इञ्जिनियर दीपक कुँवरले माफी माग्नुभयो, डा. पाण्डेले पनि माफी माग्नुभयो। बिना सर्त वार्ता टुंगियो’, लामाले भने– ‘उक्त अस्पतालमा उपचार गर्दा लागेको खर्च बच्चा नै नबाँचेपछि लिनु राम्रो होइन भन्दै डा. पाण्डेले बच्चाको खर्च मिनाहा गरे।’ वार्ता टोलीमा अस्पतालका तर्फबाट पूरै व्यवस्थापन पक्ष र डा. पाण्डे बसेका थिए।लापरवाही गर्ने डाक्टरहरुले वार्ताटोली समक्ष आएर माफी माग्नुपर्छ भन्दा उनीहरु आज छुट्टीमा रहेकाले म आफंै माफी माग्छु भन्दै डा.पाण्डेले माफी मागेको लामाले बताए।

डा. पाण्डेका साथ अस्पताल सञ्चालक समितिले हामीसँग माफी मागे।सञ्चालक दीपकले त यतिसम्म भन्नुभयो– ‘मैले जिन्दगीमा माफी मागेको थिएनँ, आज पहिलोपटक माफी माग्नुर्पयो। यस्तो काम अब नहोस्, अब डाक्टरमाथि छानविन गर्छु र कसलाई राख्ने कसलाई नराख्ने भन्ने मेरो जिम्मामा छोड्नुस् म कारबाही गरेर तपाईंहरुलाई जानकारी गराउँछु।’ डा. पाण्डेले भने– ‘मैले मिडियासामु माफी माग्नु भनेको लाइसेन्स खारेज हुनु र अस्पताल बन्द गराउनु हो, त्यसैले तपाईंहरुसमक्ष माफी माग्छु। अस्पताल मेनेजमेन्ट र मेरो तर्फबाट माफी माग्छु ।’

सबैले माफी मागेपछि मृतक बच्चा बुझेर बुद्ध धर्मअनुसार पशुपतिको जंगलमा लगेर लामा बिधिअनुसार अत्येष्टि गरिएको दोर्जे लामाले जानकारी गराए। ‘लापरबाही अस्पताल डाक्टरको हो ढाकछोप गर्नु व्यवस्थापनको कमजोरी हो । अस्पताल नै बन्द हुने अवस्था आएपछि अबदेखि यस्तो गल्ती गर्दैनौ भनेर माफी मागे’ –लामाको भनाइ थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्