‘महानिरीक्षक सर्वेन्द्र खनालको इतिहास गर्विलो छ’

Sarbendra-khanal
प्रहरी महानिरीक्षकको वर्दीलाई लुँगीसँग तुलना गर्ने मात्रै नभएर उनले कुनै अमुक मन्त्रीलाई करोडौँ रुपियाँ बुझाएर आइजीपी भएको भनेर लेख्नेसम्मका काम भएका छन्। आइजीपीको मात्रै होइन, सार्वजनिक पद धारण गरेका जोसुकैको आलोचना गर्न पाइन्छ। तथ्य र सत्यमा टेकेर कुनै पनि आरोप पनि लगाउन पाइन्छ। तर, के मनोगत रुपमा कुनै आरोप लगाउन पाइन्छ ? किमार्थ पाइँदैन।
लाेकपाटी न्यूज
0 Shares

राधाकृष्ण देउजा

आफ्नो निहित स्वार्थ र कुण्ठाको जगमा जसलाई जे पनि आरोप लगाउने अनि त्यस्तो फत्तुर आरोपहरु कहीं कतै प्रमाणित हुनु नपर्ने हो ? आज विद्यमान ऐन, कानुनअनुसार पक्राउ परेर अनुसन्धानको निम्ति थुनिएका रवि लामिछानेलाइ जोगाउने बाहनामा समग्र राज्य व्यवस्थाकै खिलाफमा जनमत उठाउने कसरत हुँदैछ। कसैलाई पक्राउ नै गर्न नमिल्ने भन्ने खालका प्रचार गरिँदैछन्।

हो कोही कसैलाई पनि अनावश्यक रुपमा पक्राउ गर्नु हुन्न। झन कसैले आफैंले आफ्नो हत्या अर्थात् आत्महत्या गर्दा कसैलाई त्यसको निम्ति जिम्मेवार ठहर गरेकै हुनाले कोही थुनिनुपर्ने अवस्था ठीक हैन नै। तर, त्यसो भन्दैमा कानूनमा रहेको त्रुटी विधिवत रुपमा संशोधन नभएसम्म प्रहरी वा जुनसुकै राजकीय निकायले पनि त्यस कानुनअनुसार आफ्नो कर्तव्य गर्नैपर्छ। अहिले पनि प्रहरीले त्यही नै गरिरहेको छ। आवश्यक छानविनपश्चात मुद्दा अदालतमा बुझाउने छ। सम्मानित अदालतले अन्तिम निर्णय गर्ने हो। विवेकसहित न्याय सम्पादन हुँदा केवल आरोपकै भरमा कोही थुनिने छैन। तथ्य यही नै हो। हुने र हुनुपर्ने पनि यही हो। तर, यही घटनालाई उछालेर आफ्ना दमित मनोकामना पुरा गर्ने काम पनि चलेकै छ भन्ने प्रष्ट हुँदैछ।

हुँदाहुँदा प्रहरीले सदाझैं विद्यमान कानुन कार्यान्वयनको काम गरिरहेको तथ्यलाई नजरअन्दाज गर्दै वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै हुर्मत लिने र त्यसो गर्दै समग्र प्रहरीको मनोवल घटाउने खेल हुँदैछ। त्यसैले त प्रहरी महानिरीक्षकको वर्दीलाई लुँगीसँग तुलना गर्ने मात्रै नभएर उनले कुनै अमुक मन्त्रीलाई करोडौँ रुपियाँ बुझाएर आइजीपी भएको भनेर लेख्नेसम्मका काम भएका छन्। आइजीपीको मात्रै होइन, सार्वजनिक पद धारण गरेका जोसुकैको आलोचना गर्न पाइन्छ। तथ्य र सत्यमा टेकेर कुनै पनि आरोप पनि लगाउन पाइन्छ। तर, के मनोगत रुपमा कुनै आरोप लगाउन पाइन्छ ? किमार्थ पाइँदैन। र, जहाँसम्म आइजीपी सर्वेन्द्र खनालले करोडौँ खुवाएर आइजीपी भए भन्ने आरोप, त्यो तथ्यहीन आरोप हो।

कसैको आग्रह पूर्वाग्रह र कुण्ठाको उपज हो। त्यसैले जसले पनि त्यो लेख्यो उसले आफ्नो आरोप पुष्टि गर्नुपर्छ। अझै आइजीपी सर्वेन्द्र खनाललाई हिलो छ्याप्न तत्कालिन अवस्थामा आइजीपी प्रतिस्पर्धामा रहेका रमेश खरेलको समेत फोटो जोडेर आफ्नो लेखनीलाई पुष्ट्याउने कोशिस भएको पनि देखिन्छ। तर, त्यस्तो लेख्नेहरुलाई के थाहा ? स्वयं रमेश खरेललाई पनि थाहा छ कि सर्वेन्द्र पैसा बुझाएर आइजीपी भएका हैनन् भन्ने कुरा। यसो भन्दा सर्वेन्द्र खनालको तावेदारी गरको भन्नेहरु पनि प्रकट हुन सक्लान्। तर त्यस्तो होइन। यस्तो दावी गर्नुको पछाडि सर्वेन्द्र खनालको गर्विलो विगत मात्रै आधार हो।

यद्यपि कसैलाई त्यस्तो लागेछ भने पनि भने हुन्छ। लेखे हुन्छ, म वहाँहरुलाई शुभकामना दिँदै सर्वेन्द्र खनाल योग्यता, क्षमताको आधारमा नभएर पैसा खुवाएर आइजीपी भएको प्रमाणित गर्न चुनौती नै दिन चाहन्छु र त्यसो भएमा सार्वजनिक रुपमा आत्माआलोचना गर्दै माफी माग्न तयार रहेको जानकारी गराउन चाहन्छु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्