के पुरुषलाई अन्माएर भित्र्याउन मिल्दैन ?

Aastha Ghimire-2
नेपालमा महिला हिंसाका घटना बढ्नु भनेको महिला र पुरुषभित्र रहेको पितृसत्ताको सोचको उपज हो । महिलाहरुलाई गहना र लुगाको पाता कसेर भित्र्याइन्छ । के पुरुषलाई महिलाले आफ्नो जन्मघरमा भित्र्याउन मिल्दैन ?
लाेकपाटी न्यूज
0 Shares

– आस्था घिमिरे

अत्यन्तै प्रिय लाग्छ यो शब्द, समानता ! कसलाई मन पर्छ र असमानता र अन्याय ? यही कसैलाई मन नपर्ने शब्द व्यवहारमा हेराैं। कहाँ छ यहाँ समानता र न्याय ? अझ नेपाल यस्तो देश हो, जहाँ नारी समानताका अनेकौं गाथा र उपगाथाले प्रकाशन र प्रसारण जगतको आधा हिस्सा ओगटिरहेको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको दिन प्रतिदिनका सेमिनार, गोष्ठी र कार्यशालाहरुको लागि तारे होटलका हलहरुमा पालो पाइँदैन। दैनिक पत्रपत्रिकाको पेजहरु महिला अधिकारको विषय लेखनकै लागि एक हिस्सा छुट्याइन्छ। देशको माथिल्लो ओहोदासम्म महिलाहरु पुगेकै छन्।

राज्य सञ्चालनको माथिल्लो निकायसम्म महिलाहरुकै पहुँच छ। संविधानमा नै ग्यारेण्टी गरेर ३३ प्रतिशत विशेष अधिकारको व्यवस्था समेत गरिएको छ। र, पनि अझै किन चलाई राखौं कलम ? नारी समानताको विषयमा बोलिराख्नुपर्ने के आवश्यकता ? कहिले त मनमा यस्तै तर्कनाहरु आउँछन्। अनि चल्दै गरेका कलमहरु टक्क रोकिन्छन्। फेरि देख्छु नारी जातीले भोग्दै गरेका पीडाहरु। आमा, भाउजुका दुख्दै गरेका घाउहरु। दिदी बहिनीका आँसुहरु। थरीथरीका भोगाइहरु, व्यथाहरु, बन्दन भित्रका चित्कारहरु। जञ्जिर नै जञ्जिरले कसिएर मृत्यु शैयामा पुग्नै लागेका जीवनहरु। ती दिनहरुमा बल्ल जुरुक्क उठ्छन् मर्न लागेका लेखकीय चाहनाहरु।

एक साँझ आमालाई सोधें – “जीवन के हो मम्मी ?” लामो सुस्केरा हाल्दै उहाँले भनुभयो – “भोगाइहरुको सकस हो।” थाहा छैन मेरी आमा कहिलेदेखि दार्शनिक हुनुभयो ? नपढेकी मेरी आमाको दार्शनिक अभिव्यक्तिले यस्तो लाग्यो उहाँको यति गहिरो ज्ञानलाई कार्ल माक्र्सको कुन परिभाषाले समेट्न सक्छ होला ? उनको परिभाषामा ज्ञान प्राप्त हुने तीन माध्यम छन्।

वर्ग संघर्ष, उत्पादनको निम्ति संघर्ष र वैज्ञानिक प्रयोग। हो, मेरी आमा वर्गीय र लिङ्गीय असमानताको बोझमा किचिएर दार्शनिक हुनुभयो। अब त यस्तो लाग्न थालेको छ, हाम्रो नेपालका आमाहरु सबै दार्शनिक हुन्। जसलाई पितृसत्ताको जाँतोले कयौं पटक घुमाई घुमाई धुलोपिठो पारिसकेको छ।

के भोगाइ नै सकस हो ? हो त किन होइन। पितृसत्तात्मक समाजका मान्छेको जिन्दगी भोगाइकै सकस त हो। भोगाइहरुले महिलालाई सकस दिएको छ। भोगाइले नै पुरुषहरुलाई सकस दिएको छ। पितृसत्तात्मक समाजमा महिला भएर बाँच्न मात्र होइन, पुरुष भएर बाँच्न पनि कठिन छ।

महिलाभन्दा पुरुषहरु शक्तिशाली र सत्ताका मालिकजस्ता देखिए पनि परिणाम स्वयम् पुरुषका लागि पनि निक्कै नै घातक छ। क्षमताभन्दा बढी आर्थिक र समाजिक जिम्मेवारीले थिचेर उनीहरु दुःखी र हिंस्रक भइरहेका छन्। जबरजस्ती कठोर हुनुपर्ने र बहादुरीता देखाउनुपर्ने कारण उनीहरुमा भावनात्मक समवेदना नै कमजोर हुन्छ।

अझै हाम्रो जस्तो समाजमा व्यक्तिको क्षमता र योग्यताभन्दा बढी सम्पत्तिमा मान्छेलाई दाँज्ने गरिन्छ। नराम्रै काम गरेर पनि सम्पत्ति जोड्नुपर्ने अर्को बाध्यता छ। छोरा र छोरीलाई फरक–फरक भुमिकाको दायित्व बोकाइन्छ। घर भित्रको काममा आमा, श्रीमतीलाई सघाउनेलाई उछित्तो काटेर कमजोर बनाइन्छ। नामर्द भनेर आक्षेप लगाइन्छ।

उता महिलाहरुले गर्ने घरेलु श्रमको सम्मान छैन। घरबार समाल्ने, बालबच्चा हुर्काउने, कुटानी, पिसानी, धुलाई, सफाई जस्ता झन्झटिला काम महिलाको भागमा पर्ने हुँदा महिलाहरुले काम गरेर पनि कामको सम्मान पाउँदैनन् र हेपिएर बाँच्न बाध्य हुन्छन्। महिलाहरुले जसरी आँसु बगाएर मनको वेग शान्त पार्ने छुट पाउँछन्। पुरुषहरुले त त्यो पनि पाउँदैनन्।

भावनात्मक र संवेदनात्मक आवेगहरुलाई निस्फीक्री अभिव्यक्त गर्ने छुट नपाए पछि उनीहरु कठोर र हिंस्रक हुन्छन्। पुरुषहरुलाई दुःखमा रुन र सुखमा हाँस्न पनि छुट छैन। सानैदेखि छोराहरुलाई जबरजस्ती अमानवीय हुने संस्कार दिइन्छ। जसको कारण हत्या, हिंसा, अपराध, बलात्कार, चोरी डकैती जस्ता घृणीत कामहरुमा महिलाको भन्दा पुरुषकै बढी सहभागीता देखिन्छ।

महिला सशक्तीकरणको नारा उठाउँदै गर्दा पुरुषका समस्यालाई ओझेलमा पारेको देखिन्छ। महिलाले पुरुषलाई निषेध गरेर अथवा पुरुषले महिलालाई निशेध गरेर कुनै पनि समाज अगाडि बढ्न सक्दैन। त्यसैले महिला आन्दोलनहरु पुरुषकै सहयोग र साझेदारीमा गर्नुपर्छ। पुरुषहरुको सहयोग बीना महिलाले अधिकार पाउँदैनन्। महिलाको सहयोग बीना पुरुषहरु सफल हुन सक्दैनन्। त्यसैले महिला र पुरुष एक अर्काका परिपुरक हुन्।

अर्को महत्वपूर्ण पाटोलाई हामीले कहिल्यै देखेनौं। बर्षौंसम्म खाई खेली आएको आफ्नो घरपरिवारलाई छोडेर कहिल्यै नचिनेको घर गएर बस्दा जो पनि मानसिक रुपमा कमजोर हुन्छ। कोही पनि मानिस महिला वा पुरुष भएकै आधारमा शक्तिशाली र कमजोर हुने होइन। सामाजिक व्यवस्थाको कारणले कमजोर हुने हो। अर्काको घरमा जानुपर्ने, अर्काको भरमा बाँच्नुपर्ने भएको कारण महिलाहरु कमजोर भएका हुन्। पितृसत्ताले गाँजेको समाजमा महिलाहरु पनि पितृसत्तात्मक सोचबाट ग्रसित छन्। आफूलाई कमजोर ठान्छन् र पुरुषहरुलाई नै शक्तिशाली ठान्छन्। आफ्नो क्षमतामा बाँच्नुको साटो पुरुषलाई नै भरोसाको केन्द्रको रुपमा बुझ्छन्।

अब छोराले बुहारी भित्र्याउन पाउँछ भने छोरीले ज्वाईं भित्र्याउन पाउने कि नपाउने ? छोरीलाई अन्माएर ज्वाईंको घरमा पठाउँदा हुन्छ भने छोरालाई अन्माएर बुहारीको घरमा पठाउन हुने कि नहुने ? जबसम्म छोरीलाई अन्माएर अर्काको घर पठाउने संस्कारको अन्त्य हुँदैन। मारे पाप पाले पुण्य भन्दै अर्काको जिम्मा लगाउने संस्कृतिको लोप हुँदैन। जबसम्म महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार हुँदैन। जबसम्म छोरीहरुको पनि छोराहरुको जस्तै जन्म घरमा बस्ने र जीवनसाथीलाई पनि सँगै राख्ने अधिकार सुनिश्चित हुँदैन। तबसम्म नारी समानताको ठूला कुरा गर्नु खोक्रो आदर्श सिवाय केही होइन।

यदि महिलाहरुको पनि आफ्नो जन्म घरमा छोरासरह अधिकार पाए भने, महिलाले पनि पुरुषसँगसँगै काम गरे भने, बाँच्नको लागि आत्मनिर्भर हुने थिए। पुरुषको बोझ कम हुने थियो। सम्पूर्ण परिवार एक्लैले पाल्नुपर्ने आर्थिक दायित्व कम हुने थियो। दिदीबहिनी तथा छोरीको लागि दाइजो दिने पैसा जम्मा गर्नु पर्दैन थियो। दाइजो प्रथा कम हुँदै जाने थियो। अपराधिक घटनाहरु पनि कम हुँदै जान्थ्यो।

आफूले पाल्नुपर्ने भएपछि पुरुषहरुले महिलालाई कब्जामा राख्न खोज्नु स्वभाविक हो। पुरुषको भरमा नै बाँच्नुपर्ने कारण महिलाहरु हिंसामा पर्ने कारण पनि स्वभाविक हो। आर्थिक उपार्जनको काममा पुरुषकै सक्रियता बढी देखिन्छ भने महिलाहरु चाहेर वा नचाहेर पनि अनुत्पादक काममा पेलिन बाध्य छन्।

महिलाहरु अनुत्पादक काममा रुमलिएपछि यसको चोट महिलाहरुले मात्र होइन पुरुषहरुले पनि खाएका छन्। जस्तोसुकै काम गरेर भए पनि पैसा कमाउनुपर्ने, पारीवारिक दायित्व पूरा गर्नुपर्ने, भावनात्मक समवेदना रोक्नुपर्ने, रोयो भने हुतिहारा र नामर्द कहलिने डरले जबरजस्त कठोरता देखाउनुपर्ने, यही पनि एउटा कारण हुनसक्छ पुरुषहरु अपराधिक क्रियाकलापमा बढी सक्रिय देखिने।

हुन त नेपालमा महिलावादी आन्दोलन निकै बलियो र सशक्त छ। संसदमा ३३ प्रतिशत महिलाको अधिकार सुरक्षित गरिएको छ। यो व्यवस्था संसारकै ठूलो लोकतान्त्रिक मुलुक भनेर चर्चा कमाएको छिमेकी मुलुक भारतमा समेत छैन। संसारको निक्कै थोरै देशमा कानूनतः (तर व्यवहारमा छैन) महिलाले यति अधिकार पाएका छन्।

शक्तिशाली पदको हिसाब गर्ने हो भने राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, रक्षामन्त्री जस्ता महित्वपूर्ण पदहरुसमेत महिलाले सम्हालिसकेका छन्। तर पनि नेपालमा महिला हिंसाका घटना बढ्नु भनेको महिला र पुरुषभित्र रहेको पितृसत्ताको सोचको उपज हो। महिलाहरुलाई गहना र लुगाको पाता कसेर भित्र्याइन्छ। के पुरुषलाई महिलाले आफ्नो जन्मघरमा भित्र्याउन मिल्दैन ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्