‘हिरासतको मान्छे असूरक्षित हुँदैन, बोल्दा संयमता अपनाउनु’

लाेकपाटी न्यूज
0 Shares

चितवन, ६ भदाै। चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असूरक्षा नरहेको जनाएको छ। प्रमूख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनै जनामाथि कुनै किसिमको सूरक्षा चुनौती नभएको बताएका हुन्।

पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत स्टाटस लेख्दै रविले आफू प्रहरीबाटै असूरक्षित रहेको दाबी गरेका थिए। उनले दोस्रो पटक म्याद थप गरेपछि आफू प्रहरीबाटै असूरक्षित रहेको बताएका थिए। रविको सुरक्षाबारे प्रहरी प्रमूख मल्लले भने हिरासतमा अन्य साधारण व्यक्तिसरह सामान्य अवस्थामा रहेकाे प्रष्ट्याएका छन्।

‘उनीमाथि कुनै असूरक्षा र दबाब छैन’, उनले भने, ‘सामाजिक सञ्जालमा कसले के लेख्यो, कसले के भन्यो त्यो थाहा छैन, सबैको जवाफ दिइरहनु आवश्यक छैन। तर रविसहित युवराज कँडेल र अस्मिता कार्की मात्रै नभई हिरासतका सबै सूरक्षित छन्।’

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुको सूरक्षामा जिल्ला प्रहरी कार्यालय अत्यन्त सचेत रहेको मल्लको भनाई छ। ‘प्रहरीको घेरामा रहेका व्यक्ति कसरी असूरक्षित हुन्छ ?’ मल्लले प्रति प्रश्न गर्दै भने, ‘अनुसन्धान भइरहेको छ, सूरक्षाबारे अनेक आशङ्का नगर्न सबैसँग आग्रह गर्दछु।’उनले अनुसन्धान भइरहेको विषयमा बोल्दा संयमता अपनाउन पनि सबैसँग आग्रह गरे।

रविले प्रहरीले चलाएको कदम आफूलाई फसाउने गरी सुनियोजित र नियतपूर्ण भएको दाबी गरेका थिए। पहिलो पटक थपिएको ५ दिनको म्यादमा आफूले प्रहरीलाई अनुसन्धानमा सहयोग गरे पनि दोस्रो पटक म्याद थपिएपछि उनले आफूले प्रहरीबाटै असूरक्षित महसुस गरेको बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्