प्रदेश दुईका नेकपा अध्यक्ष प्रभु शाहको राजीनामा स्वीकृत नहुने

prabhu-shah
लाेकपाटी न्यूज

काठमाडौं, ६ भदाै। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश २ अध्यक्षको पदबाट राजीनामा दिएका प्रभु शाहको राजीनामा स्वीकृत नहुने भएको छ ।

गत मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नेनेकपाकाे प्रदेश नम्बर दुईको अध्यक्ष पदबाट शाहले राजीनामा दिएका थिए । शाहले राजीनामा दिएको भए पनि उनको राजीनामा भने स्वीकृत भएको छैन ।

‘उहाँको राजीनामा आएको छ, तर स्वीकृत भएको छैन’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘उहाँले उठाउनु भएका कतिपय कुरामा पार्टी गम्भिर छ, उहाँसँग यस विषयमा कुराकानी गर्ने र सम्झाइबुझाइ गर्ने पार्टीको तयारी छ ।’

पार्टीको माथिल्लो निकायको निरन्तर गलत निर्णय र निर्देशनका कारणले काम गर्ने वातावरण नभएको भन्दै साहले गत मंगलबार राजीनामा दिएका थिए । प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग तथा चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले राजीनामा बुझाएका थिए ।

स्थायी कमिटीका प्रबल दावेदार मानिएका शाहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट बनेका थिए । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अपठयारो पार्न खोजिएको बुझाइ शाहको छ ।

प्रदेश सदस्यहरुको चयन गरिदाँ आफूसँग सल्लाह नगरिएको भन्दै उनी रुष्ट बनेका थिए । जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवं जनप्रतिनिधिहरूको प्रशिक्षण समेत बिना कारण नेतृत्व तहबाट रोकिएको उनी असन्तुष्ट बनेका थिए ।