कश्मीरको राजदूत बनेर जनतालाई साथ दिन्छु : इमरान खान

Imran_Khan
लाेकपाटी न्यूज

काठमाडौं, १० भदौ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन्। उनले सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको पनि बताए। कश्मीर मामलामा राष्ट्रलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

राष्ट्रलाई सम्बोधन गर्दै खानले भने, ‘यदि कश्मीर मुद्दाले लडाइँको रुप लियो भने याद रहोस् दुबै मुलुक परमाणु शक्ति सम्पन्न छन् । हामी कुनै पनि हदसम्म जान सक्छौं ।’ कश्मीरी जनता संकटमा रहेको भन्दै उनले उनीहरुलाई आफूहरुले साथ दिने बताए । उनले भने, ‘म आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने छु । २७ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउने छु ।’यसबारे पूरै पाकिस्तानमा १२ बजेदेखि साढे १२ बजेसम्म आधा घण्टा बाहिर निस्किएर कश्मीरको बारेमा पनि बताउने प्रधानमन्त्री खानले जानकारी दिए ।

भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोसेपछि यो अन्तर्रा्ष्ट्रिय मुद्दा बनेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कारण कश्मीरका जनतालाई स्वतन्त्रताको मौका मिलेको इमरान खानको भनाइ छ । कट्टर हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को योजनाअनुसार भारतले कश्मीर मुद्दामा कुरै गर्न नचाहेको उनले आरोप लगाए। आरएसएस भारतको एक हिन्दु राष्ट्रवादी, अर्धसैनिक स्वयंसेवक संगठन हो, जुन सत्तारुढ भारतीय जनता पार्टीको भातृ संस्था मानिन्छ।

बीबीसीका अनुसार आरएसएसलाई विश्वकै सबैभन्दा ठूलो स्वयंसेवी संस्था भनिन्छ। इमरान खानले सम्बोधनको क्रममा भारत सरकार संयुक्त राष्ट्रसंघको प्रस्ताव, संविधान, जवाहरलाल नेहरुको प्रतिबद्धता र धर्म्निरपेक्षताविरुद्ध गएको जिकिर गरे। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्