क्यान्सर अस्पताल विवादः कारणसहित उपस्थित हुन सर्वाेच्चकाे आदेश

लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं, ११ भदाै। सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारण १५ दिनभित्र लिखित रुपमा पेश गर्न भक्तपुर नगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा आफ्नै अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि विवाद उत्पन्न भएको थियो ।

नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा संचालित भक्तपुर क्यान्सर अस्पतालमा पुरानो व्यवस्थापन समितिले अनियमितता गरेको भन्दै नगर प्रमूख प्रजापतिले नयाँ व्यवस्थापन समिति गठन गरेका थिए ।

नगरप्रमूख प्रजापतिले गैर कानुनी रुपमा अस्पताल व्यवस्थापन समिति गठन गरेको भन्दै पूर्व व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले सर्वोच्वमा मुद्दा दर्ता गरेका थिए ।

श्रेष्ठको रिट निवेदनमा मंगलबार न्यायाधीश तेह बहादुर केसीको एकल इजलासले पुरानो व्यवस्थापन समिति र नयाँ व्यवस्थापन समितिलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्चले भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न भक्तपुर नगरपालिकालाई भनेको छ । सर्वोच्चले नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका मेयर प्रजापतिलाई भदौ १६ गते उपस्थित हुन सूचना समेत जारी गरेको छ ।