संस्कृतिविद् राई र सितिमीलाई दिलकुमारी पुरस्कार

लाेकपाटी न्यूज

काठमाडौं, १३ भदाै। गीतकारद्वय दिदीभाइ सरिता चाम्लिङ ‘नाना’ र टीका चाम्लिङसमेतका ममतामयी आमा स्व. दिलकुमारी चाम्लिङ राईको स्मृतिमा परिवारजनद्वारा स्थापित ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार’ संस्कृतिविद् तथा लेखक डा. भक्त राई र चाम्लिङ भाषाको मासिक पत्रिका ‘सितिमी’का लागि प्रकाशक तथा सम्पादक तिलक चाम्लिङलाई प्रदान गरिएको छ ।

डा. राईले संस्कृतिका क्षेत्रमा र चाम्लिङले मातृभाषा साहित्यको जगेर्नामा उल्लेखनीय योगदान दिए बापत साे पुरस्कारद्वारा पुरस्कृत गरिएको हो । बिहीबार बागबजारस्थित सिटीम्याक्स सिनेमाघरमा आयोजित समारोहमा प्रमूख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले राईद्वयलाई जनही पच्चिस हजार नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि राईले दिवंगत भएकी आफ्नी ममतामयी आमाको स्मृतिमा पुरस्कार स्थापना गरेर चाम्लिङ परिवारले उदाहरणीय काम गरेको बताए। उनले भने, ‘यस्तो कार्यले दिवंगत भएका आफन्तको आत्माले शान्ति पाउँछ र उहाँहरूको स्मृति अमर रहन्छ ।’

नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूको अध्यक्षतामा भएको कार्यक्रममा दिलकुमारीका जेठा छोरा टीका चाम्लिङले आफ्नी आमा सिलिमोमाका साथै लोकशिल्प र कलाकी ज्ञाता भएकोले पनि मातृभाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभालाई पुरस्कृत गर्ने उद्देश्यले साे पुरस्कार स्थापना गरिएको बताए । उनले भने, ‘यस पटक चाहिँ दुई वर्षको पुरस्कार एकैचोटि प्रदान गरिएको हो ।’

कार्यक्रममा वरिष्ठ कवि जसराज किराती र मुन्धुमविद् भोगिराज चाम्लिङले पुरस्कृत प्रतिभाका बारेमा प्रकाश पारेका थिए भने स्व. दिलकुमारीका भाइ चन्द्र चाम्लिङ राई र घनश्याम चाम्लिङ राईले दिलकुमारी चाम्लिङका बारेमा बताएका थिए। कार्यक्रम कवि मनिषा चाम्लिङले सञ्चालन गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्