काठमाडौं, २२ कात्तिक। मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि ६५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभापर्फ बिहीबार मनोनयनपत्र दर्ताको आह्वान गरेको थियो।
जसअनुसार प्रतिनिधिसभाका १ र प्रदेशसभाका तीन गरी रिक्त चार पदमा ६६ जनाको उम्मेदवारी परेको हो। प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २ र प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि उम्मेदवारी दर्ता गराइएको हो।
कास्की क्षेत्र नं २ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रवीन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त भएको पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।
कास्कीमा २२
प्रतिनिधिसभा सदस्य पदका लागि कास्की २ मा २२ जनाको उम्मेदवारी परेको छ। नेकपाबाट विद्या भट्टराई, कांग्रेसबाट खेमराज पौडेल, साझाबाट रजनी केसी, समाजवादीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, राप्रपा (संयुक्त)बाट गंगा मल्ल, नेकपा (माले)बाट टेकनाथ भण्डारी, कांग्रेस (बीपी)बाट चन्द्रबहादुर रानाभाटसहित ११ जना दलका उम्मेदवार छन्। बाँकीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। विवेकशीलकी जमुना शर्माले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएकी छन्। संरक्षण क्षेत्रमा काम गरेर हालै अवकाश पाएका कमलजंग कुँवरले पनि उम्मेदवार बनेका छन्।
दाङमा १४
दाङ ३ (२) को प्रदेशसभा सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ। नेकपाबाट विमलाकुमारी खत्री, कांग्रेसबाट केशवराज शर्मा आचार्य, राप्रपाबाट भूपाल रावत, राप्रपा (संयुक्त)बाट छोटीलाल चौधरी, समाजवादीबाट डिल्लीबहादुर डाँगी उम्मेदवार बनेका छन्।
नेकपा (माले)का हरिप्रसाद डाँगी, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज सुनार, मंगोल नेसनल अर्गनाजेसनका घनश्याम चौधरी, साझाका शिवकुमार चौधरी, कांग्रेस (बीपी)का दीपक धिताल, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्ररबहादुर खत्री, स्वतन्त्रबाट टीकाराम आचार्य र गोविन्द केसीको उम्मेदवारी परेको थापाले बताए।
बागलुङमा १०
बागलुङ क्षेत्र नम्बर २ (२) मा १० जनाको उम्मेदवारी परेको छ। वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, कांग्रेसका जितबहादुर शेरचन, समाजवादीबाट अशोक विक, राप्रपा संयुक्तबाट नीमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेसनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर र स्वतन्त्र रूपमा सन्तोष भण्डारी अनि शेरमान घर्तीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
भक्तपुर १९
भक्तपुर निर्वाचन क्षेत्र नं १ ‘क’ मा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारले समेत उम्मेद्वारी दर्ता गराएका छन्। आयोगका अनुसार नेकपाका तर्फबाट देवीप्रसाद ढकाल, कांग्रेसका कृष्णलाल भँडेल, नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले उम्मेदारी दर्ता गराएका छन्। यस्तै, कृष्णप्रसाद ह्योगो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, सङ्गीता पौडेल, जीवनचन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेकपा (माले)का सुदर्शन लामिछाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार लामा, कांग्रेस (बिपी)का मधुसुदन न्यौपाने गरी कूल १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ।