काठमाडौं, २२ कात्तिक। जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्वलाई लक्षितगरि लागु गरेको सुरक्षा योजना सफल रहेको जनाएको छ। दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर जिल्लामा सञ्चालित विशेष सुरक्षा योजनाले शान्ती सुरक्षा कायम राख्न सफल रहेको जनाएको हो।
यस अवधिमा जिल्लामा अप्रिय घटना नभएको र गर्न नदिएको प्रहरीले जनाएको छ। सन्तोषजनक प्रहरी परिचालन गरिएकोले सुरक्षा योजना पूर्ण रुपमा कार्यान्वयन भएको निष्कर्ष जिल्ला प्रहरी कार्यालय चितवनको रहेको छ। अपराध नियन्त्रण तथा शान्ती सुरक्षा, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्य प्रहरी सफल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चाडपर्वको समयावधिमा मुख्य घटनाको रुपमा काठमाडौंबाट सर्लाही तर्फ जाँदै गरेको बस अनियन्त्रित भइ भरतपुरको आस्थाचोक सडकमा दुर्घटना हुँदा ३८ जना घाईते भएको प्रहरीले जनाएको छ। चाडपर्वको समयमा चितवनबाट ८६ जना जुवाडे पक्राउ परेका थिए। उनीहरुको साथबाट करिब १२ लाख रुपैयाँ बरामद समेत भएको प्रहरीले जनाएको छ।
यस अवधीमा चार सय ७१ जना मानिस विभिन्न कसुरमा पक्राउ परेका थिए। जस मध्ये एक सय ९९ जनलाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ। बाँकी अन्यलाई सोधपुछ पश्चात छोडिएको थियो। पक्राउ पर्नेमा नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय नेता गोपाल लोहनी समेत रहेका थिए।
चाडपर्वको समयावधीमा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ८५० सवारीसाधनमाथि कारबाही गरिएको छ। जसबाट साढे २२ लाख राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।