नाबालिका छोरीसहित रामबहादुरले गरे आत्महत्या

Kailali
लाेकपाटी न्यूज
0 Shares

कैलाली, ६ असोज । कैलालीमा एक पुरुषले तीन वर्षीय छोरीसँगै आत्महत्या गरेका छन्। गौरीगंगा नगरपालिका वडा नम्बर ५ का रामबहादुर कलेलले सल्पास नामक विषादी सेवन गरेर आत्महत्या गरेका हुन्।

उनले तीन वर्षीया छोरी अनुष्कालाई पनि सल्पास खुवाएको र उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

६ महिना अघिमात्रै उनकी पत्नीले पनि आत्महत्या गरेकी थिइन्। गत वैशाख १६ गते कलेलकी पत्नी सरिता कलेलले कोठामै झुण्डिएर आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए ।

सरिताका माईती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको ईजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए ।

छुटेको झण्डै डेढ महिनापछि उनले नाबालिका छोरीसहित विष सेवन गरेर आत्माहत्या गरेका हुन्। विष सेवन गरेका उनीहरुलाई आइतबार राति उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। यस बारेमा अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्